भारतमा एक मन्दिरको सम्पत्तीः २७२० करोडभन्दा बढी नगद, २६३ किलो सुन र २० हजार सुनका लकेट

लोकपथ
91
Shares

काठमाडौं । भारत केरलास्थित एक प्रसिद्ध मन्दिरको सम्पत्ती नगद मात्र २ हजार ७२० करोडभन्दा बढी रहेको खुलेको छ । यसैगरी सुन २६३ किलो रहेको खबर छ ।

केरला जिल्लाको प्रसिद्ध गुरूवायुर श्रीकृष्ण मन्दिरले आफ्नो बैंक खातामा १ हजार ७ सय करोडभन्दा बढी भारतीय रूपैयाँ अर्थात २ हजार ७२० करोडभन्दा बढी नेपाली रूपैयाँ र २६३ किलोभन्दा बढी सुन रहेको जानकारी दिएको हो ।

आरटीआईले सोधेको प्रश्नको जवाफ दिँदै मन्दिर प्रशासनले उक्त जानकारी दिएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको हो । मन्दिरका अधिकारीका अनुसार मूल्यवान ढुंगा, सिक्का र करिब २० हजार सुनको लकेटसहित २६३ दशमलव ६३७ किलो सुन मन्दिरमा रहेको पनि जानकारी दिइएको छ ।

यसअघि, सुरक्षाको कारण देखाउँदै मन्दिरको सम्पत्ति विवरण दिन मन्दिर व्यवस्थापनले अस्वीकार गरेपछि आरटीआईमार्फत् जवाफ मागिएको थियो । जसअनुसार मन्दिरमा ६ हजार ६०५ किलो चाँदी, १९ हजार ९८१ सुनको लकेट र ५ हजार ३५९ चाँदीका लकेट रहेको दि हिन्दू डट कमले जनाएको छ ।

शताब्दीऔं पुरानो उक्त विष्णु मन्दिरको प्रमुख देवताका रुपमा गुरुवायुरप्पन हुन्, जसलाई बालगोपालन अर्थात् भगवान कृष्णको बालस्वरूपका रुपमा पुजिने गरिएको छ । मन्दिरमा आफ्नो तौल बराबरको वस्तु भगवानलाई चढाउने चलन रहँदै आएको छ ।

सन् २०१९ को जुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कमलको फूलले तौलिएको र सोही फूलले विशेष पूजा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?