नेतृत्वका कारण पार्टी लथालिंग र अस्तव्यस्त भयो : नेता केसी

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता जगदीशनरसिंह केसीले नेतृत्वका कारण पार्टी लथालिंग र अस्तव्यस्त भइरहेको आरोप लगाएका छन्। उनले नेतृत्वले लोकतान्त्रिक मूल्यमान्यता भुल्दा कार्यकर्ता र शुभेच्छुकहरूलाई यातनाको अनुभव भइरहेको बताएका हुन्।

केसीले आइतबार बिहान कांग्रेस इतरपक्षको भेलामा सम्बोधन गर्दै भने, ‘राणा र पञ्चायतको दमनचक्रभन्दा यसकै नेतृत्वले गरेका पार्टी विधान र लोकतन्त्रविपरीतका हर्कतहरूले हामीलाई यातनामय अनुभव भइरहेका छन्।’

उनले राणा र पञ्चायती शासनको दमनका बाबजुद देशको एक नम्बर राष्ट्रिय शक्तिका रूपमा स्थापित कांग्रेस पार्टी नेतृत्वकै कारणले लथालिंग र अस्तव्यस्त अवस्था भोगिरहेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराए।

उनले भने, ‘आफ्नो नेतृत्वको पार्टीलाई अस्तव्यस्त बनाएर सिद्धान्तहीन गठबन्धन् र अपारदर्शी साठगाँठ वा सौदाबाजीका कारण नेपाली कांग्रेस स्खलित, कमजोर र रुग्ण बनाइएको छ।’ जनताले कांग्रेसलाई संसद्को सर्वाधिक ठूलो पार्टी बनाइदिए पनि नेतृत्वको नालायकीपनले गर्दा सत्ता प्राप्तिका सम्भावना र कारण अन्यत्र पुगेको केसीको ठहर छ।

यसैगरी उनले पार्टीको भ्रातृसंस्था भइरहेको अलोकतान्त्रिक प्रक्रियाको पनि आलोचना गरे। उनले भने, ‘छ महिनाभित्र वा संसदीय निर्वाचन सकिएको तीन महिना ९०७९ फागुन० भित्र आफ्नो अधिवेशन गरिसक्नुपर्ने जिम्मेवारीका साथ मनोनीत भएका पाँचवटा भ्रातृसंस्थाका केन्द्रीय समिति आफ्नो गठनको उद्देश्यलाई उपेक्षा गर्दै अनधिकृत र अवैध रुपमा जिल्लाजिल्लामा आफूजस्तै टीके कमिटी गरिरहेका छन्।’

भ्रातृसंस्थाहरूको नेतृत्व, अधिवेशन र हस्तक्षेपरहित स्वतन्त्र र निष्पक्ष लोकतान्त्रिक प्रक्रियाद्वारा निर्माण गरिनुपर्ने माग केसीको छ। उनले भने, ‘आन्तरिक लोकतन्त्रलाई भित्रभित्रै कीरा पारेर पार्टीलाई मक्काउन र सडाउन उद्यत दुष्कर्मको सारा निष्ठावान् तथा स्वाभिमानी साथीहरू, खासगरी भ्रातृसंस्थाकै साथीहरूबाट जोडदार विरोध हुनु परिस्थितिको अनिवार्य आवश्यकता भइसकेको छ।’

यस्तो दुष्कर्मले कांग्रेस जस्तो सिद्धान्त, नैतिकता र जनउत्तरदायी पार्टीको कदापि हित नहुने उनले बताए। उनले भ्रातृसंस्थामा भइरहेका यस्ता गतिविधिलाई तुरुन्त रोकी यथाशीघ्र अधिवेशनद्वारा नेतृत्व निर्वाचित गर्ने प्रक्रिया चलाउन माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?