धनराजले किन गरे शेखरलाई सभापतिको प्रस्ताव ?

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी महाधिवेशमा डा. शेखर कोइरालालाई सभापति उम्मेदवारको रुपमा अघि सारेर जानुपर्ने प्रस्ताव राखेका छन् ।

आइतबार बिहान बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको संस्थापन इतरको बैठकमा उपसभापति गुरुङले सो प्रस्ताव राखेका हुन् ।

इतर समूहले विचार विमर्श गर्दै आगामी दिनमा यथेष्ठ कार्ययोजनासहित अघि बढ्नका लागि डा. कोइरालालाई अघि सारेर जानुपर्ने उनको जोड रहेको छ ।

‘हाम्रो समूहबाट १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार शेखर कोइरालालाई अघि सारौँ र आजैदेखि रूपान्तरण र पुस्तान्तरणका मुद्दा लिएर जाँऔँ ।’ बैठकमा उपसभापति गुरुङले भने ।

यसअघि पार्टीको १४औँ महाधिवेशनमा संस्थापन समूह एक हुन नसकेको तिर संकेत गर्दै आगामी महाधिवेशनमा पनि सोही प्रवृत्ति दोहोरिने भन्दै उपसभापति गुरुङले सो प्रस्ताव गरेर अघि जानुपर्नेमा जोड दिए ।

उनले भने, ‘समयमा सहमति गरेर अघि बढ्न सकेनौँ भने भोलि मलाई पनि आकांक्षा जाग्न सक्छ । महामन्त्री गगनजीलाई पनि आकांक्षा जाग्न सक्छ । त्यसले फेरि पनि हामी एक हुन नसक्ने अवस्था आउन सक्छ ।’

बैठकमा गुरुङले गरेको प्रस्तावलाई चासोका साथ हेरिएको छ । संस्थापन इतरको नेतृत्व कसले गर्ने भन्ने विषयमा आन्तरिक विवाद देखिएका बेला गुरुङले सो कुरा बताएका हुन् । यता उनको प्रस्तावमा कांग्रेस महामन्त्री गगनकुमार थापाले पनि मौन समर्थन जनाएका छन् । जसको कारण आगामी निर्वाचनमा डा. कोइराला संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार बन्ने सम्भावना बढेको छ ।]

हाल संस्थापन इतर समूहको नेतृत्व डा. कोइरालाले गरिरहेका छन् । पार्टीको १४औँ महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गरेका डा. कोइराला र संसदीय दलमा प्रतिष्पर्धा गरेका महामन्त्री थापा समूहको नामले संस्थापन इतरलाई चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?