‘प्रधानमन्त्रीको पहिलो परीक्षण घरबेटी ठेकेदारलाई कारवाहीबाट शुरु हुन्छ’ (भिडियोसहित)

लोकपथ
52
Shares

काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहिलो परीक्षण कालोसूचीमा परेका घरबेटी ठेकेदारलाई कारवाही गर्ने/नगर्नेबाट शुरु हुने बताएका छन् ।

लोकपथ टिभीको कार्यक्रम कर्माणिका लागि कुरा गर्दै भ्रष्टाचारविरुद्धको अभियानमा समेत संलग्न त्रितालले प्रधानमन्त्रीले भन्ने गरेको सुशासन व्यवहारमा देखिनुपर्ने बताए ।

पार्टीगत रुपमा विभाजित प्रशासन संयन्त्रलाई दुढतापूर्वक काममा लगाउनसक्नुपर्ने पनि उनले बताए । राम्रालाई अवसर नदिने अतिरिक्त स्वार्थ पाल्नेलाई काखी च्याप्ने राजनीतिक नेतृत्व हुँदासम्म परिणाममुखी काम नहुने उनले बताए ।

सचिवहरुलाई कांग्रेस, एमाले वा माओवादीको ट्याग लगाएर होइन, नेपाल सरकारको सचिवका रुपमा हेर्ने र काम लगाउने नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।

विवादै विवादले घेरिएका व्यक्तिहरुलाई स्वार्थ बाझिएका मन्त्रालयमा मन्त्री बनाउनुले नै प्रधानमन्त्रीले भन्ने गरेको सुशासनमाथि प्रश्न उठिसकेको पूर्वसचिव त्रितालले टिप्पणी गरे ।

बाहिर रहँदा आदर्शका कुरा छाँट्नेहरु स्वयंले पनि आफूसँग स्वार्थ बाझिने मन्त्रालय रोज्नु नैतिक नहुने उनको भनाइ थियो । दलगत भ्रातृ संस्थाका रुपमा बनाइएका ट्रेड युनियनहरु आवश्यक नरहेको भन्दै उनले काम नगर्नेहरुलाई खुट्टा नकमाइकन कारवाही गरिनुपर्ने बताए ।

मुख्य सचिव निरीह बन्दा प्रशासन संयन्त्रले काम गर्न नसकेको भन्दै उनले नियुक्ति दिँदा पनि सक्षम व्यक्तिलाई दिन र देशहितका पक्षमा काम गर्न कर्मचारी संयन्त्र लाग्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीहरु मध्ये सूर्यबहादुर थापा राजकाज र प्रशासन बुझेको अनुभव सुनाउँदै उनले गिरिजाप्रसाद कोइरालाले कहिल्यै फाइल नपढ्ने गरेको बताए ।

मनमोहन अधिकारी असाध्यै गम्भीर र दीर्घकालीन सोच भएको प्रधानमन्त्री भए पनि आफैले निर्णय गर्न नपाएको र उनलाई पार्टीका केही व्यक्तिले सधैं घेराबन्दीमा राखेको उनले सुनाए ।

विश्व बैंकको नेतृत्वमा बनाउन खोजिएको अरुण तेस्रो गुमाउन नहुने, यदी यो परियोजना नबने मुलुक लोडसेडिङमा पर्नेसम्म बताएका अधिकारीले पार्टीभित्र निर्णय भने गराउन नसकेको उनले बताए ।

केपी ओलीको काम गर्ने शैली पूर्वप्रधानमन्त्री कोइरालासँग मिल्ने भन्दै उनले शेरबहादुर देउवाले आफ्नो प्रधानमन्त्रित्वकालमा उल्लेख्य केही गर्न नसकेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?