काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले आज काठमाडौंमा आन्तरिक भेला गरेका छन् । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको भेलामा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।
भेलामा १४ औँ महाधिवेशनमा कोइराला पक्षबाट निर्वाचित पदाधिकारी, उम्मेदवार, केन्द्रीय सदस्य, प्रतिनिधि सभा सांसदहरू र प्रदेश सभापतिहरू सहभागी रहेको नेता गुरूराज घिमिरेले जानकारी दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने पार्टी निर्णयमा असन्तुष्ट रहेका संस्थापनइतर समूहका नेताहरुले पार्टीमा लिने आगामी कदमबारे छलफल गर्नेछन् । नेविसंघ, तरूण दललगायत भ्रातृ संस्थाले पूर्णता नपाएका विषय पनि छलफलका एजेण्डा छन् । यही माघ १५ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ ।
केन्द्रीय समितिमा आफ्नो पक्ष कसरी पेश हुने भन्नेमा पनि नेताहरुबीच छलफल हुनेछ । चुनावअघि बनाएको गठबन्धनलाई सरकार बनाउने समयमा जोगाउन नसकेकामा कांग्रेसभित्र सभापति देउवाको आलोचना बढेको छ । त्यसमा पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णयको पनि देउवाले औचित्य पुष्टि गर्न सकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया