काठमाडौं । सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा आफूलाई सभामुखमा निर्वाचित गराएकोमा धन्यवाद व्यक्त गर्दै यस्तो बताएका हुन् ।
उनले बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको भन्दै दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसदको गतिशीलता र क्रियाशीलता निर्भर रहने बताए । उनले सांसदहरुलाई असल संवैधानिक र संसदीय अभ्यास अँगाल्न आग्रह गरे ।
उनले विगतको राजनीतिक सक्रियता र संलग्नतालाई थाती राखेर सभामुखको पदीय मर्यादा र भूमिकालाई सदासदा गरिमायुक्त बनाउनु आफ्नो पहिलो दायित्व भएको बताए । उनले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासहरुको अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘नेपालको संविधानले अंगिकार गरेका मुलभुत मान्यताहरुको संरक्षण, संवद्र्धन र विकास गर्दै संविधानवाद र कानूनको शासनप्रति प्रतिवद्ध रहेर नै हामीले अंगिकार गरेको संसदीय व्यवस्थालाई सुदृढ र सक्षम बनाउने कर्तव्यप्रति हामी सबै प्रतिवद्ध रहेको तथ्यमा विवाद हुन सक्दैन ।
नेपालको संविधानले अंगिकार गरेको जनतामा निहीत सार्वभौम सत्ताको प्रयोग नेपाली जनताले आवधिक निर्वाचनको माध्यमबाट गरी यो प्रतिनिधि सभा गठन भएको छ । जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकको रुपमा आत्मसाथ गर्नु मेरो प्राथमिक दायित्व हो ।
प्रतिनिधि सभाको सभामुखको हैसियतले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासहरुको अनुशरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । यो प्रतिनिधि सभाको हालसम्म अध्यक्षता गर्नुहुने ज्येष्ठ सदस्य माननीय पशुपति शम्शेर जबरालाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’
सभामुख घिमिरेले प्रतिनिधि सभा सांसदहरुलाई सभामा प्रस्तुत हुँदा रचनात्मक र क्रियात्मक सहयोग, सहभागिता र संलग्नताको लागि आग्रह गरे ।
हेर्नुहोस् पूर्णपाठ :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया