काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको निर्देशन प्रहरी प्रशासनले मान्न छाडेको हो ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै सांसद खतिवडाले हत्या आरोपित नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयबाट पत्र जारी भएकोमा सो परिपाटी गलत भएको भन्दै आपत्ति जनाएका छन् ।
सांसद खतिवडाले मन्त्रीको मौखिक निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरेका हुन् । ‘नेपालको प्रहरी प्रशासनले गृहमन्त्रीलाई टेर्न छाडेको हो ?’ उनले भने, ‘गृह मन्त्रालयबाट एउटा पत्र सार्वजनिक भएको छ । नेपालको इतिहासमा अपराधीलाई प्रेस विज्ञप्ति निकालेर खोज्न जाने परम्पराको सुरुवात भएको छ ।
प्रेस विज्ञप्तिबाट अपराधी खोज्ने परिपाटी सुरु भयो भने देश कहाँ जाने हो ? बडा चिन्ताको विषय भयो ।’ उनले गृहमन्त्री रवि लामिछानेले केटाकेटापनको प्रदर्शन गरेको पनि जिकिर गरे । उनको प्रश्न थियो, ‘के गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो ? मौखिक सूचना दिँदा कोही अपराधीलाई पक्राउ नगर्ने परम्परा सुरु भएको हो ? के अझै पनि जनतालाई ढाँट्नका लागि यो सूचना प्रकाशित गरिएको हो ?
यसरी अपराधी पक्रन सकिन्छ ? यसरी सूचना सार्वजनिक गर्ने हो भने गोप्यताको हक कहाँ रहने भयो ?’ संसद्मा विश्वासको मत दिँदा सांसद कोइरी उपस्थित भएको तर उनलाई पक्राउ गर्न नसकिएको स्मरण गराए । उनले हत्या आरोपितलाई पक्रन नसक्ने अनि सूचना जारी गर्ने भन्दै गृहमन्त्रीको आलोचना गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया