महोत्सवले बढाएको व्यापार सम्झँदा

लोकपथ
21
Shares

नुवाकोट । म्यागङ गाउँपालिका–४ किम्ताङ निवासी ज्ञानु तामाङले ‘हस्तकला ढाका झोला उद्योग’ सञ्चालन गर्दै आइरहेकी छन् । विसं २०७२ देखि विदुर नगरपालिका–९ स्थित कोलोनीमा उद्योग सञ्चालन गर्दै आइरहेकी उनले जिल्लामा हुने हरेक मेला महोत्सवमा बिक्री कक्ष लिन्छन् ।

महोत्सवबाट हुने आम्दानीले उद्योग सञ्चालन गर्न थप हौसला मिल्ने गरेको तामाङ बताउँछन् । ‘उद्योग सञ्चालनमा आएको सुरुवाती चरणमा मासिक रु एक लाखदेखि डेढ लाखसम्म आम्दानी हुने गरेको थियो । अहिले रु ५० हजार आम्दानी हुन मुस्किल छ’, उनले भनिन्, ‘जिल्लामा सञ्चालित महोत्सवले मेरो उद्योगलाई ठूलो राहत पुग्ने गरेको छ ।

महोत्सबबाट ढाकाको झोलाले राम्रो बजार पाएर उत्साहित हुन्थे । महोत्सवको समयमा रातभरि झोला बुनेको याद सम्झदा पनि आनन्द लाग्छ ।’ कोलोनीमा नै रजनी थापाले कुसन तथा गुडिया बनाउने उद्योग सञ्चालन गर्दै आइ राखेकी छन् । उत्पादित कुसन तथा गुडियाले उद्योगबाटै बजार पाइरहेको छ ।

उद्योग सञ्चालन गर्नुको साथै उनी नै तालिम दिनलाई गाउँ बस्तीसम्म पुग्छन् । उनले भनिन्, ‘जिल्लामा हुने सबै मेला महोत्सवमा मैले बनाएको कुसन तथा गुडिया प्रदर्शन र बिक्रीको लागि राख्ने गरेकी छु । व्यापार चित्त बुझ्दो नै हुन्छ ।’ मेरो उद्योगमा उत्पादित सामग्रीलाई बजारको खासै समस्या छैन । सामग्री उत्पादन गर्न मेला महोत्सवले उत्साह/जागर थपिदिन्छ ।

विदुर नगरपालिका–१२ मा ‘ज्ञानु क्याण्डी उद्योग’ सञ्चालन भइरहेको छ । विसं २०७२ मा लप्सीको परिकार बनाउने तालिम लिएर उद्योग सञ्चालन गरेको ज्ञानु तामाङलाई महोत्सवले नै व्यवसायीको रुपमा परिचित गराएको हो । ‘व्यवसाय सञ्चालन गरेको सुरुवाती वर्षमा लगानी उठ्न मुस्किल हुन्थ्यो । बजारको समस्या थियो ।

बजार चिन्ने मौका मलाई महोत्सवले नै दिएको हो’, उनले भनिन्, ‘साना ठूला केही कार्यक्रम हुँदा पनि प्रदर्शनीमा राख्न प¥यो तपाईको उद्योगको उत्पादन भनेर जानकारी आउने गरेको छ । हाल बजारको खासै समस्या छैन । मागअनुसार उत्पादन गर्न भने मुस्किल छ ।’

सातौँ नुवाकोट महोत्सवको तयारी तीव्र

‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्वर्द्धन, दीगो आर्थिक विकासको लागि व्यावसायिक प्रवर्द्धन’ भन्ने नारासहित नुवाकोट उद्योग वाणिज्य संघ सातौँ महोत्सवको तयारीमा जुटेको छ ।

यही माघ २७ देखि फागुन १०गतेसम्म महोत्सव सञ्चालन हुने भएकाले आवश्यक पूर्वतयारीमा नुवाकोट उद्योग वाणिज्य संघ जुटेको हो । जिल्लामा आर्थिक रुपले लगानीमैत्री वातावरण सिर्जना गरी बाह्य लगानीलाई आकर्षण गराउने उद्देश्यले महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताए ।

विदुर नगरपालिका–५ स्थित पिपलटारमा हुने महोत्सव अघिल्लोभन्दा पृथक रहने अध्यक्ष कार्कीले बताए । महोत्सव तयारीको लागि मूल समारोहको संयोजकसहित विभिन्न ३० उपसमितिको संयोजक चयन गरिएको हो । जिल्ला समन्वय समिति नुवाकोट र जिल्लाको १२ वटै स्थानीय तह सहआयोजनामा हुने महोत्सवको प्रवर्द्धकमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्ड रहेको प्रचारप्रसार तथा मञ्च व्यवस्थापन उपसिमितिका संयोजक एवं संघका प्रवक्ता सविन राजभण्डारीले जानकारी दिए ।

महोत्सवलाई मनोरञ्जनात्मक, व्यवस्थित र बाल उद्यान तथा स्टल निर्माणको लागि नारायणी फेयर एक्जिवेशन नेपाल प्रालिसँग सम्झौता भइसकेको प्रवक्ता राजभण्डारीले जानकारी दिए । महोत्सवमा तीन सय स्टल रहनेछ । महोत्सवमा ज्येष्ठ नागरिक, आपाङ्गता भएका व्यक्ति र असहायलाई पूर्ण छुटको व्यवस्था रहेको प्रवक्ता सविन राजभण्डारीले भने ।

महोत्सवमा रु २० करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको छ । करिब सात लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र करिब रु २० लाख मुनाफा हुने अपेक्षा गरिएको संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?