उपसभामुखका लागि आज मतदान हुँदै, इन्दिरा र मुक्ताकुमारी प्रतिस्पर्धामा

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधि सभाकाे उपसभामुख चयनका लागि आज मतदान हुँदैछ । प्रतिनिधि सभाको आज बस्ने बैठकबाट उपसभामुख चयन गर्न लागिएको हो । बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

बैठकमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धन र विपक्षी गठबन्धनले छुट्टाछुट्टै उम्मेदवार बनाएका छन् ।

सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले शुक्रबार उपसभामुख पदमा मनोनयन दर्ता गराएका छन् । इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलको समर्थन छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा भने प्रतिस्पर्धा गरेको छ ।

यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्‍यौपानेलाई उम्‍मेदवार बनाएको थियो । तर, सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका देवराज घिमिरे सभामुख चयन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?