युरोपेली संघको टोली तत्काल नेपाल नआउने

लोकपथ
52
Shares

काठमाडौं । नेपालको उड्डयन सुरक्षाबारे ‘अनसाइट मूल्याङ्कन’ गर्न नेपाल आउने योजनामा रहेको युरोपेली संघ (इयू) को टोलीको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । इयूको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि इयूका राजदूत नोना डेप्रेजले आज संयुक्त विज्ञप्ति जारी गर्दै इयूको अनसाइट मूल्याङ्कन तत्कालका लागि रोकिएको जनाएको हो ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार यती एयरलाइन्सको यही माग १ गते पोखरामा भएको दुर्घटना जाँच आयोगको काममा प्राधिकरणको जनशक्ति खटिनुपर्ने भएकाले आपसी सहमतिमा तत्कालका लागि इयूको नेपाल भ्रमण स्थगित भएको हो ।

यसअघि गत अक्टोबारमा इयूको एक टोलीले नेपालको उड्डयन सुरक्षाबारे अध्ययन गर्दै उडान सुरक्षामा उल्लेख्य प्रगति भएको निष्कर्ष निकालेको थियो । छुट्टै टोलीलाई स्थलगतरुपमै खटाएर अध्ययन गराउने निर्णयका साथ उक्त टोली फर्किएको थियो ।

उड्डयन सुरक्षका लागि इयूले नेपाललाई निरन्तर सहयोग जारी राख्ने विज्ञप्तिमा उल्लेख छ । सन् २०१३ देखि इयूले नेपाललाई सुरक्षासूचीमा राखेको छ । उक्त सूचीबाट हटाउन नेपालले विभिन्न प्रयास गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले हालै गरेको अडिटमा नेपालको हवाई सुरक्षा परिपालनादर ७० दशमलव एक प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?