हवाई सुरक्षालाई सुरक्षित र भरपर्दो बनाउन पर्यटनमन्त्रीको निर्देशन

लोकपथ
39
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएका छन् ।

बबरमहलस्थित क्यानको केन्द्रीय कार्यालय पुगेर क्यानका उच्च अधिकारीसँग छलफल गर्दै मन्त्री किराँतीले हवाई सुरक्षाको क्षेत्रमा प्रगति हुनेगरी काम गर्न आग्रह गरे । हवाई सुरक्षामा सुधार गर्दै परिणाममुखी काम गर्न पर्यटनमन्त्रीले निर्देशन दिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

‘हवाई पूर्वाधार विकासमा फड्को मार्नेगरी काम गर्नुस, देशलाई समृद्धिको दिशामा अघि बढाउन निर्माण र सुरक्षाको क्षेत्रमा फड्को मार्नुपर्छ । हवाई सुरक्षा अभिवृद्धिका साथै पूर्वाधार विकासको कामलाई समयमै सम्पन्न गर्नेतर्फ बसैको ध्यान जान जरुरी छ’, मन्त्री किराँतीको भनाइ उद्धृत गर्दै प्रवक्ता निरौलाले भने ।

पर्यटनमन्त्री किराँतीले क्यानको सेवा प्रणालीबारे ब्रिफिङ लिएको थियो । क्यान स्थापनादेखि पछिल्ला गतिविधिबारे मन्त्रीलाई क्यानको टोलीले ब्रिफिङ गरेको प्रवक्ता निरौलाले बताए । पर्यटनमन्त्री किराँतीले विदेशी नागरिकलाई नेपालको पहिलो झल्को दिने ऐनाको रुपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको सेवासुविधा र पूर्वाधारयुक्त बनाउन पनि निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?