कांग्रेसकी मुक्ताकुमारी यादवले गराइन् उपसभामुखमा उम्मेदवारी दर्ता

लोकपथ
14
Shares

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा नेपाली कांग्रेस पार्टीबाट सांसद मुक्ताकुमारी यादवले उम्मदेवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे रहेका छन् भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी) का मेटमणी चौधरी रहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले उपसभामुखमा यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । यादव धनुषाबाट समानुपातिकतर्फ निर्वाचित सांसद हुन् ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन भोलि माघ ७ गते दिउँसो १ बजे गर्ने गरी संघीय संसद् सचिवालयले बिहीबार निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गरेको थियो ।

सूचनाअनुसार प्रतिनिधिसभाका कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने समय आज माघ ६ गते दिउँसो १ देखि अपराह्न ४ बजेसम्म निर्धारण गरिएको छ । आजै अपराह्न ४ः१५ बजे निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिनेछ ।

यही माघ ७ गते प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने, उम्मेदवारीको सूचनामाथिको संक्षिप्त छलफल हुने तथा दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?