काठमाडौं । उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको बताएका छन् ।
शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रदर्शनीले नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवर्द्धन र नेपालको विद्युत नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरुमा सहयोग पुग्ने आशा गरेको बताए ।
उनले सरकारले लगानीमैत्री वातावरण बनाउने उल्लेख गर्दै अब उद्योग दर्तासम्बन्धी कुनैपनि प्रक्रियाहरुका फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुने र रेड ट्यापिजमको अन्त्य गर्दै एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रियाको थालनी गर्ने बताए । उनले देशभित्रका उद्योगी, व्यापारीहरुलाई ढुक्कसँग लगानी गर्न र विदेशी उद्योगीहरुलाई पनि नेपालमा लगानीमैत्री वातावरण रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरे ।
उनले सरकारले लगानीकर्ताको सम्पूर्ण सुरक्षाको जिम्मा लिने र लगानीको पूर्ण ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवद्र्धन र नेपालको विद्युत नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरु यो एक्स्पोले अझै सहयोग गर्नेछ । कुनैपनि सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर, उपरखुट्टी लाएर बस्ने छुट र समय मलाई छैन ।
संक्षिप्त समय निकालेर म आएको छु । यो सरकारले लगानीमैत्री वातावरण बनाउँछ, अब उद्योग दर्ता र कुनैपनि कामहरु, प्रक्रियाहरु लामो जानुपर्ने फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुन्छ, रेड ट्यापिजमको अन्त्य हुन्छ, एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रिया हामीले निर्धारण गर्न लागेका छौँ ।’
उनले देशभित्रका उद्योगी, व्यापारीहरुलाई ढुक्कसँग लगानी गर्न आग्रह गर्दै भने, ‘नेपालमा लगानी गरौँ भन्ने विदेशी उद्योगीहरुलाई यहाँ आउनुहोस् नेपालमा लगानीमैत्री वातावरण छ, सरकारले सबै प्रकारको सुरक्षा गर्छ । सरकारले सबै जिम्मा लिन्छ, लगानी खेर जाँदैन, लगानीको पूर्ण ग्यारेन्टी हामी लिन्छौँ ।’
मन्त्री लिङदेनले नेपालको उर्जा नेपालमा नै खपत गर्ने कुरामा लाग्नुपर्नेमा जोड दिए । उनले विद्युतीय सामग्रीहरुको बढी प्रयोग गरेर विद्युत खपत बढाउनुपर्ने बताए । उनले विद्युतीय सामग्रीको प्रयोग बढाउन सरकारले वातावरण बनाउनुपर्ने बताए । उनले देशभित्रै उद्योगधन्दा बढी भन्दा बढी खोल्ने वातावरण सरकारले बनाउने बताए । उनले आगामी दिनमा देशमा उद्योगधन्दाको व्यापक बिस्तार हुनुपर्ने बताए ।
उनले भने, ‘नेपालको उर्जा नेपालमा नै खपत गर्ने कुरामा हामी सबै लाग्नुपर्छ, छिमेकीहरुसँग व्यापारको कुरा त छँदैछ तर देशभित्रै पनि यसको खपत बढाउनुर्छ । इलेक्ट्रिकल भेकलहरु चलाउनुपर्छ । त्यसलाई सरकारले सजिलो बनाउनुपर्छ । ग्याँसको ठाउँमा बिजुलीबाट खाना पकाउन थाल्नुपर्छ । अहिले पनि म भन्छु, ग्यासबाट खाना पकाउने खर्चको आधा खर्चमा बिजुलीले पाक्छ ।
इण्डक्शन चलाउनुपर्छ । देशभित्रै उद्योगधन्दाको स्थापना हुनुपर्छ । उद्योगीहरुलाई सरकारले लगानीको सुरक्षित हामी गर्छौं भन्ने वातावरण बनाउनुपर्छ । त्यसतर्फ हामी उन्मुख हुन्छौँ र देशमा व्यापक रुपमा उद्योगधन्दाको बिस्तार हुनुपर्छ ।’ मन्त्री लिङदेनले सरकारमा आफ्नो पार्टी प्रवेश गरेसँगै विभिन्न शंका र उपशंकाहरु गरिएको भन्दै सरकारमा बसेर शंकाहरु चिर्ने बताए ।
उनले भने, ‘हामीप्रति अनेकप्रकारका शंका, उपशंकाहरु गरिएको छ, यो हाम्रो अग्निपरीक्षा हो, हामी खरो उत्रिएर उत्तीर्ण गर्छौं ।’ प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी स्टलहरु रहने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया