काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले संसदलाई अझै मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताएका छन् ।
शुक्रबार पदभार ग्रहण गर्दै सभामुख घिमिरेले प्रतिनिधि सभालाई मर्यादित बनाउन क्रियाशील हुने बताएका हुन् । घिमिरे बिहीबार सभामुखमा निर्वाचित भएका थिए । उनले नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने निर्णयमा हस्ताक्षर गरेका छन् ।
राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सभामुखको कार्यकक्षमा पुगेर घिमिरेले पदभार ग्रहण गरेका हुन् । शपथग्रहण कार्यक्रमपछि सभामुख घिमिरेले आज नै लैनचौरस्थित सहिद स्मृति स्मारक पुगेर सहिदप्रति माला चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । शालिकमा माल्यार्पण गरेर सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर पदबहाली गरेका हुन् ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रक्रिक्रिया दिँदै घिमिरेले संसदलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘नेपाली जनताको प्रतिनिधि संस्थालाई अझ बढी व्यवस्थित, क्रियाशील र अझै बढी मर्यादित बनाउन सबैको प्रत्यन हुनेछ । यसको नेतृत्व गर्ने जिम्मेवारी मैले पाएको छु ।’
सत्ता गठबन्धनका दलहरूको बहुमतका साथ घिमिरे सभामुखमा निर्वाचित भएका थिए । घिमिरेले १६७ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन् । विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाइन् । प्रस्तावको मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया