कार्य पद्धती नसुधारे नेपालको हवाई क्षेत्र झन् ठूलो संकटमा फस्छ : पूर्वमहाप्रबन्धक क्षेत्री

लोकपथ
104
Shares

काठमाडौं । विमान दुर्घटनाका प्रतिवेदनहरु इमान्दारीपूर्वक कार्यान्वयन नगर्ने हो भने हाम्रो पद्धतीलाई कसैले विश्वास नगर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहाप्रबन्धक राजकुमार क्षेत्रीले बताएका छन् ।

लोकपथ टीभीको कार्यक्रम कर्माणिसँग कुरा गर्दै क्षेत्रीले पोखरामा भएको यती एअरलायन्सको दुर्घटना दुःखद मात्र नभई सबैका लागि कल्पनै गर्न नसकिने खालको भएको बताए ।

अनुभवी र वरिष्ठ पाइलट, खुला ठाउँ, खुलेको मौसम तथा विमानमा कुनै खराबी भएको जानकारी क्रूले नदिएको अवस्थामा भएको दुर्घटना अचम्मै पार्ने खालको भएको उनको भनाइ छ ।

सार्वजनिक भएका भिडियो फुटेजले निकै तल पुगेपछि विमान घुमाउन खोज्दा नियन्त्रणमा लिन नसक्दा पो दुर्घटना भएको हो कि भन्ने आशंका गर्ने ठाउँ भने भएको पूर्वमहाप्रबन्धक क्षेत्रीले बताए । तर, अब तथ्य पत्ता लगाउन ब्ल्याक बक्सको डाटा र छानबीन समितिको प्रतिवेदन कुर्नुबाहेक अर्को उपाय नभएको भन्दै उनले त्यस्ता प्रतिवेदनहरु भने कार्यान्वयनमा ल्याइनुपर्ने बताए ।

युरोपियन युनियनले नेपालको आकाशलाई राखेको कालोसूचीबाट हटाउन पहल भइराख्दा भएको यस्तो दुर्घटनाले नेपाललाई झनै रक्षात्मक बनाउने उनको भनाइ छ ।

जहाज थोत्रो भएर दुर्घटना भएको भन्ने विषयसँग असहमति राख्दै उनले भने, ‘विमानको आयु लामो होला तर, थोत्रो हुन्न । हरेक पार्टपूर्जाको आयु तोकिएको हुन र निश्चित अवधिमा त्यो फेर्नेपर्ने हुन्छ ।’ अरु सवारी जस्तो विमान नथोत्रिने उनको तर्क थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालन र अनुगमनको कामलाई अलग अलग गर्न अब ढिलाई गर्न नहुने पनि उनले सुझाए । प्राधिकरण र नेपाल वायु सेवा निगममा नेतृत्व लिन जानेहरु बोलकबोलमा जाने र सरकारले त्यस्तैलाई जिम्मेवारी दिने गर्दा संवेदनशील निकायहरुमा जोखिम बढिरहेको पनि क्षेत्रीको स्वीकारोक्ति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?