सभामुख घिमिरेको अग्नीपरीक्षा शुरु : सक्लान् निष्पक्ष बन्न ? (भिडियोसहित)

नेकपा एमालेका सांसद देवराज घिमिरे नेपाली कांग्रेसकी इश्वरी न्यौपानेलाई पराजीत गर्दै संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन् ।

१६७ मत पाएका घिमिरेले प्रतिष्पर्धी न्यौपानेलाई ६७ मतअन्तरले हराएका हुन् । घिमिरेलाई सत्तागठबन्धनमा रहेका सबैजसो दलले मत दिँदा न्यौपानेलाई कांग्रेससहित विपक्षमा रहेका एक सय सांसदको मत मिलेको हो ।

सदन सञ्चालनमा रहेका ज्येष्ठ सदस्य पशुपतिशमशर राणाले घिमिरे निर्वाचित भएको घोषणा गर्दा सत्ताधारीहरुमा निकै प्रफुल्लता देखिन्थ्यो भने प्रतिपक्षीहरु हिस्सझै देखिन्थे ।

उनी नेपालको संसदीय इतिहासमा प्रतिनिधि सभाको नवौं सभामुखका रुपमा निर्वाचित घिमिरे देश संघीयतामा गएपछिका तेस्रो सभामुख बनेका हुन् । लगत्तै यसअघिका सभामुखहरु आलोचनाको घेराबाट माथि उक्लन नसकेका बेला तिनैको उत्तराधिकारी बनेर आएका घिमिरेले सदनमा कत्तिको निष्पक्षता कायम गर्न सक्छन्, भन्ने विषयले उनको परीक्षण हुनेछ ।

यद्यपि, निर्वाचित भएलगत्तै यिनै प्रश्नले घेरिएका घिमिरेले आफूले सदनको कामकारवाहीलाई निष्पक्ष बनाउने बचन दिएका छन् । एमालेको पुराना नेता भएर पनि लो प्रोफाइलमा रहेका उनले आज दिएको यो बचन पूरा गर्नसके भने उनको इमान पनि कायम रहने छ ।

प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई राष्ट्रिय सहमतिको नाममा मत दिएको तर्क गर्ने कांग्रेसले सभामुखमा भने आफ्नै उम्मेदवार बनायो र सत्ता गठबन्धनलाई फुटाउने चाल चलेको थियो । तर, उसको यो चाल सफल भएन । आफू नेतृत्वको गठबन्धनमा रहेको माओवादीलाई प्रधानमन्त्री दिएर एमालेले सत्ताको बाजी मारिरहेको टुलुटुलु हेर्न विवश कांग्रेसका नेताहरु भने यो चाल राष्ट्रपतिको आउँदो निर्वाचनसम्म रहने बताइरहेका छन् ।

वर्तमान राजनीतिका दुई गजुवा कांग्रेस र एमालेका नेताहरुले अवसर पाउँदा साथ एकार्कालाई घोचपेच गर्न भने छाडेनन् । बिहीबार पनि संसदमा आ–आफ्ना उम्मेदवारलाई मत माग्नेक्रममा भने नेताहरुले निकै घोचपेच गरे । कांग्रेस र एमालेका नेताले एकार्कामा शब्दवाणले घोचाघोच गर्दा अरु दलले पनि आफूनुकूलको भाषण गर्न भ्याएका थिए ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडामा राख्न खोजेको टिप्पणी गरे । न्यौपानेको पक्षमा मत माग्दै उनले ढोक्सा र माछाको कथा हालेर सरकारलाई पिँजडा भित्र कैद गर्ने प्रयास नगर्न पनि ओलीलाई चेतावनी पनि दिए ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर माछा मार्न ढोक्सा र जाल थापे पनि कांग्रेसको ढोक्सामा माछा नपर्ने भन्दै ओलीले गरेको कटाक्षको जवाफ दिँदै शर्माले माछा जालमा पार्ने कुनै खेल आफ्नो पार्टीले नगरेको प्रष्ट्याए ।

एमाले सांसद योगेश भट्टराईले भने कांग्रेसकै कारण २०७४ सालमा राष्ट्रपति सर्वसम्मत हुन नसकेको आरोप लगाए ।

वि.सं. २०७२ सालमा संविधान बनेपछि सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुनुपर्ने भएपनि कांग्रेसकै कारण सर्वसम्मत हुन नसकेको उनको टिप्पणी थियो । इतिहासमा हेर्ने हो भने कांग्रेसले दिनेभन्दा एमालेबाटै धेरै लिने गरेको उनले बताए ।

उता राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले भने सरकार र सत्तारुढ दलहरुको गतिविधिले मुलुक धरापमा पर्ने अवस्थामा पुगेको बताए । गृहमन्त्री रवि लामिछाने र शहरी विकासमन्त्री विक्रम पाण्डेका बारेमा यत्रो टिप्पणी गर्दै उनले यस्तै रवैया रहे लोकतन्त्र र गणतन्त्र धरापमा पर्ने चेतावनी दिए ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भने दलभन्दा माथि उठेर सभामुखले भूमिका निर्वाह गर्नुपर्ने बताए । आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य लगायतका विषयमा संसदले आवश्यक काम अघि बढाउन नसकेको उनको भनाइ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले घिमिरे योग्य र सक्षम रहेको भन्दै संसदलाई व्यवस्थित र प्रभावकारी बनाउन सक्ने अपेक्षा गरे ।

यता, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने आफ्नो दललाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न माग गरे ।

कांग्रेसलाई प्रमुख प्रतिपक्ष दल मान्ने हो भने संघीय संसदले नेपालमा पश्चिमी शैलीको संसदीय व्यवस्था समाप्त भयो भनेर घोषणा गर्नुपर्ने धारणा राखे । सरकारलाई विश्वासको मत नदिएका उनले सभामुखको सन्दर्भमा भने तटस्थ रहे ।

यसअघि सभामुख पदमा बसेका व्यक्तिहरुले सम्बन्धित दलका नेताको इशारामा काम गरेको, निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लागेका बेला घिमिरेले सदनलाई कसरी नेतृत्व दिँदै चलाउने छन्, त्यसैले उनको कार्यकालको मूल्यांकन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?