संसदको नवौं सभामुखमा घिमिरे : राजनीतिक ब्यालेन्स गर्ने ओलीको दाउ !

लोकपथ
77
Shares

काठमाडाैं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन् ।

बिहीबार भएको निर्वाचनबाट उनी सभामुखमा निर्वाचित भएका हुन् । उनको पक्षमा १६७ मत, विपक्षमा अर्थात् नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी इश्वरी न्यौपानेको पक्षमा १०० मत परेको छन् । त्यस्तै एक संसद सदस्यले पक्ष विपक्षमा मतदान गरेनन् ।

उनी नेपालको संसदीय इतिहासमा प्रतिनिधि सभाको नवौं सभामुखका रुपमा निर्वाचित भएका हुन् । घिमिरेले देश संघीयतामा गएपछि तेस्रो सभामुख बन्ने अवसर पाएका छन् । गत पुस १० गते फेरिएको राजनीतिक परिदृष्यपछि प्रधानमन्त्री छाडेर सबै पाएको एमालेबाट धेरै नेता आकांक्षी थिए । तर ओलीनिकट रहेका आधारमा उनी उम्मेदवार बन्दै सभामुखको कुर्सीमा बस्ने अवसर पाएका हुन् ।

को हुन् उनी ?

२०१३ साल जेठ १३ मा ताप्लेजुङ सिकैचा–३ मा जन्मिएका उनले राजनीतिक शुरुवात भने २०३१ सालबाट गरेका थिए । झापा विद्रोहपछि राजनीतिक यात्रा थालेका उनी सुखानी शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका छन् ।

हाल एमाले स्थायी कमिटी सदस्य रहेका उनी ०५६ मा राष्ट्रिय सभा सदस्यसमेत भएका थिए । २०७८ सालमा भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट स्थायी कमिटी सदस्य बनेका घिमिरे हाल एमाले प्रदेश १ का इन्चार्ज पनि हुन् ।

स्नातकसम्म अध्ययन गरेका घिमिरे गत निर्वाचनमा मंसिर ४ को निर्वाचनमा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । २८ हजार ७ सय १६ मत ल्याएर विजयी भएका उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई २ हजार २ सय ६१ मत अन्तरले पराजित गर्दै सभामुखसम्मको यात्रा तय गरेका हुन् ।

घिमिरे सभामुख हुँदा ओलीलाई कति सहज ?

जब अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेससहितको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनमा पुगे तब दोस्रो दल बनेको एमाले एकाएक शक्तिकेन्द्रमा आइपुग्यो । त्यहीबाट सभामुख मात्र होइन अन्य ठूला संवैधानिक पदको हालिमुहाली एमालेको हातमा पुग्यो ।
प्रचण्डलाई प्रधानमन्त्री बनाएर अन्य ठूला संवैधानिक पदमा आफ्नो दललाई हाबी गराउने एमाले अध्यक्ष केपी ओलीको योजना अनुसार धेरै नेताले आफ्नो दाबी र लबिङलाई दरिलो बनाए । ती मध्येका घिमिरे अध्यक्षलाई रिझाएर सभामुखको उम्मेदवार मात्र बनेनन्, सभामुख नै बन्न सफल भए ।

संविधान अनुसार वरियताको पाँचौ ठूलो पदका लागि नेताहरुको दाबी रहनु स्वभाविक थियो । ओलीको जिल्लाबासी रहेका कारण पनि सभामुखको कुर्सीमा बस्ने अवसर उनले सहजै पाएका हुन् ।

गत पुस १० गते अपराह्नपछि एकाएक फेरिएको राजनीतिक परिदृष्यले साढे २ वर्षपछि प्रधानमन्त्री बन्ने बाटो खुलाएका ओली त्यसपछि संसद पनि आफूनुकूल चलोस् भन्ने चाहन्छन् । त्यसका लागि प्रश्न गर्ने होइन, आज्ञा पालन गर्ने पात्र चाहन्छन् । हुनत, साढे दुई वर्षपछि प्रधानमन्त्री मात्रै होइन, सभामुखमा पनि एमाले र माओवादीबीचमा अदलबदल गर्ने सहमति भएको बताइएको छ । यद्यपि, ओलीको चाहना सरकार र सबै संवैधानिक पदहरुबाट बेरोकटोक काम होस् भन्ने छ ।

आफैले कटू आलोचना गरेका माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि माओवादी कार्यकर्ता ओलीप्रति नतमस्तक हुनेनै भए । ओली पनि प्रधानमन्त्री पद आफूले बक्सिएको जस्तो व्यवहार देखाइरहेका छन् । राजनीतिमा ‘चेक एण्ड ब्यालेन्स’ मिलाउन जानेका ओलीले यो दुई वर्षको अवधिमा सभामुख र राष्ट्रपतिमा एमालेलाई स्थापित गराउनुका साथै संवैधानिक पदमा आफ्ना मान्छे भर्ती गरेर बाँकी कार्यकालमा बेरोकटोक शासन गर्न चाहन्छन् ।

यसअघि २०७४ को निर्वाचनपछि माओवादीबाट बनेका सभामुखबाट पाएको असहयोगको बदला पनि ओली लिन चाहन्छन् । सरकार गठन र सभामुख चयनको केही समयपछि नै सभामुखले चाहे अनुसारको बिजनेस नपाएकामा आलोचनामा उत्रिएका थिए । जसको कारण आफ्नो खल्तीको मान्छेबाट राजनीति र सरकारको काम कारबाही नियन्त्रणमा राख्न घिमिरेलाई सभामुख बनाउने ओलीको ध्याउन्न कति पूरा हुन्छ त्यो त हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?