खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकामा सञ्चालित कोभिड–१९ अस्पताललाई रुपान्तरण गरेर निरन्तरता दिएपछि सेवाग्राही लाभान्वित भएका छन् । कोरोना महामारीका बेला स्थापना गरिएको अस्थायी कोभिड–१९ अस्पताललाई पाँच शय्याको बनाएर निरन्तरता दिइएको थियो ।
गाउँपालिकाको केन्द्र कुभिन्डेस्थित हरमटारमा सञ्चालित अस्पताललाई रुपान्तरण गरेर चौबीसै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले जानकारी दिए । ‘अस्पतालमा आपतकालीन, ओपिडी, प्रसूति, भिडियो एक्स–रे, इसिजीलगायत सेवा चौबीसै घण्टा उपलब्ध गराउने गरिएको छ’, उनले भने ।
अस्पतालमा एक चिकित्सकसहितको स्वास्थ्य सेवा पाएपछि स्थानीय बासिन्दा अन्यत्र धाउनुपर्ने बाध्यताबाट मुक्त भएका छन् । गाउँपालिकाको लगानीमा सञ्चालित सो अस्पतालमा गर्भवतीको भिडियो एक्स–रे र रगत जाँच निःशुल्क गरिनुका साथै ज्येष्ठ नागरिकलाई पनि भिडियो एक्स–रे सेवामा छुट दिइन्छ ।
अस्पतालमा दैनिक २० जनाको हाराहारीमा बिरामी आउने गरेको अस्पतालका प्रमुख डा.मनोजकुमार साहले बताए । कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि २०७७ सालमा कर्मचारी आवास भवनलाई अस्थायी कोभिड–१९ अस्पतालका रुपमा स्थापना गरिएको थियो ।
कोरोना संक्रमण सामान्य भएसँगै अन्य कोभिड अस्पताल बन्द गरिए पनि रावाबेँसी गाउँपालिकाले भने अस्पतालमा रुपान्तरण गरेको हो । हरमटारमा सञ्चालित अस्पतालबाट रावाबेँसीको सबै वडा तथा छिमेकी गाउँपालिका ऐसेलुखर्कका केही वडाका बासिन्दाले स्वास्थ्य सेवा लिइरहेका छन् ।
अस्पतालको फार्मेसीबाट अधिकतम औषधि निःशुल्क उपलब्ध गराउने गरिएको गाउँपालिकाले जनाएको छ । अस्पतालका लागि आवश्यक पर्ने एक थान एक्सरे मेसिनसमेत ल्याएर आसपासका स्वास्थ्यचौकीबाट रेफर भएका बिरामीको उपचारलाई निरन्तरता दिने गरिएको छ । शल्यक्रिया गर्नुपर्ने जटिल किसिमका बिरामीलाई जिल्ला अस्पताल वा अन्यत्र रेफर गर्ने गरिएको डा.साहले बताए ।
डा.साह, ल्याब टेक्नेसियन उमेशकुमार साह, नर्स सिर्जना तामाङ र कार्यालय सहयोगी सुरेन्द्र भुजेललाई गाउँपालिकाले आन्तरिक स्रोतबाट सेवा सुविधाको व्यवस्था गरेको छ । स्वास्थ्य सहायक भोजराज अधिकारी र अनमी बिनाकुमारी साहलाई काजमा खटाइएको छ । रावाबेँसी–२ खार्पामा १५ श्य्याको अस्पताल बनिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया