बजेटको दूरुपयोग हुन नदिन मातहतका निकायलाई कृषिमन्त्री साहको निर्देशन

लोकपथ
63
Shares

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बजेटको दूरुपयोग हुन नदिन मातहतका सबै निकायलाई कडा निर्देशन दिएकी छिन् ।

मन्त्री साहले आफू मातहतका सबै निकायको अनुगमन गरी खराव काम गर्ने कर्मचारीलाई दण्ड दिने र राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहित गरेर अघि बढने आफ्नो कार्य योजना रहेको पनि स्पष्ट पारिन् ।

कृषि विभागले बुधबार प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसर पारेर ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले रामो काम गर्ने कर्मचारीलाई मनोबल नघटने गरी काम गर्ने वातावरण बनाउने आफ्नो दायित्व रहेको पनि पटकपटक दोहोर्याइन् ।

कृषि मन्त्रालयका कर्मचारीले किसानको समस्या बुझेको हुनुपर्ने उल्लेख गर्दै उनले ती समस्या समाधानका लागि मेहनतका साथ काम गर्नुपर्ने समेत बताइन् ।

मन्त्री साहले भनिन्, ‘हामी जनताको सेवाको लागि उभिएका छौं । हामी सचिवसहितका सबै कर्मचारीहरुले काम गरिरहेको अवस्था छ । कोहीको क्षमता कम होला, कसैको बढि । मेरो एउटा दायित्व के बन्न जान्छ भने निर्देशन दिने दायित्व बन्न जान्छ फेरी । मन्त्री भएको हिसावले अनुगमनको माध्यामबाट कुन कर्मचारीलाई कसरी संरक्षण गर्ने ? जसले आफ्नो काममा दिनरात मेहनत गरेको छ भने उसलाई पुरस्कारको पनि व्यवस्था गर्नुपर्ने हुन्छ । प्रमोशनको व्यवस्था गरि दिनुपर्ने हुन्छ । राम्रो गर्नेलाई राम्रो तरिकाले उत्साहित गरिदियो भने त्यसले अझ मेहनत गर्दै जान्छ । यदि मेहनत गर्याे अनि फेरी कोही खराव मान्छे उछिटिएर आयो भने उसको हिम्मत घटदै जान्छ । ए, मेहनत गरे पनि केही नहुँदो रहेछ । खरावै काम गर्नुपर्ने रहेछ । खरावैको बाटो देखाई दिन्छ । यो चिजबाट होशियार हुन जरुरी छ । भएको बजेटलाई हामी सदूपयोग गर्ने । काखापाखा नगरीकन कर्मचारीलाई सही तरिकाले सही बाटोमा हिँडनका लागि कडा निर्देशन गर्न जरुरी छ । र, त्यो निर्देशनमा तपाईहरु हिँडनु हुनेछ भन्ने मैले विश्वास गरेको छु । पक्कै पनि त्यो निर्देशनलाई तपाइँहरुले पालना गर्नु हुनेछ । किनकी कृषि सम्बन्धि आएका बढि कर्मचारीहरु कृषिको यथार्थता बुझेर आएको हुनाले जनताको समस्या, किसानको समस्या बुझेरै तपाईहरु अगाडि बढिरहनु भएको छ । त्यो मलाई राम्रोसँग थाहा छ ।’

मन्त्री साहले किसानहरुको समस्या समाधानका लागि आफू केन्द्रित भएर लागिपर्ने समेत बताइन् । उनले कृषि उपजमा मुलुकलाई आत्मनिर्भर हुने गरी अघि बढन जरुरी रहेको समेत बताइन् । कृषि क्षेत्रको विकासका लागि नयाँ–नयाँ कामको सूरुवात गर्ने मन्त्री साहको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?