ग्लोबल बैंकको १६ औँ वार्षिक उत्सवमा निःशुल्क स्वास्थ्य शिविर

लोकपथ
13
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको छ । महिला सशक्तीकरणको प्रयास स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापीरुपमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन गरेको हो ।

यस अन्तर्गत बैंकले सबै प्रदेश समेट्ने गरी सप्ताहव्यापीरुपमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु जस्तै महिलाहरुको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको छ ।

नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित गाँउपालिका/नगरपालिकाको समन्वयमा सम्पन्न गरिएको छ । कार्यक्रमअन्तर्गत प्रदेश १ मा ईलामको ईलाम नगरपालिका–१, साँखेजुङ्गस्थित वडा कार्यालयको प्राङ्गण, मधेश प्रदेशमा रौतहटको फतुवा विजयपुर नगरपालिक–७ स्थित रौतहट प्राथमिक उपचार केन्द्र र बागमती प्रदेशमा दोलखा कालिन्चोक गाउँपालिका–६, लापिलाङ्गस्थित पारच्याङ स्वास्थ चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

त्यस्तै, बैंकले गण्डकी प्रदेशमा बागलुङको निसिखोला गाउँपालिका–३, झिवाखोलास्थित बोहोरा गाउँ स्वास्थ चौकी, लुम्बिनी प्रदेशमा रोल्पाको रुन्टीगढी नगरपालिका, होलेरीस्थित होलेरी प्राथमिक स्वास्थ केन्द्र, कर्णाली प्रदेशमा सुर्खेतको लेकबेसी नगरपालिका–६, कल्याणस्थित कल्याण स्वास्थ चौकी र सुदूरपश्चिम प्रदेशमा डोटीको जोरायाल नगरपालिका–५, खहडास्थित गडशेरा स्वास्थ चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

स्वास्थ्य शिविरमा ८०९ जना महिलाहरुले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य शिविरले ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैकले लिएको छ । बैंकले प्राथमिक स्वास्थ्य सेवाको पहुँच सीमित वा पहुँच नभएका दुर्गम स्थानहरूमा पुगी यस्ता किसिमका स्वास्थ्य शिविरहरुको आयोजना गर्ने गरेको छ ।

बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी विशेषत ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?