काठमाडौं । नेकपा एमालेका सांसद एवं सभामुखका उम्मेदवार देवराज घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको बताएका छन् । बुधबार संसद सचिवालय नयाँ बानेश्वरमा प्रतिनिधि सभाका लागि सभामुखको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले विगतमा भएका कमजोरीबाट सिकेर आगामी दिनमा सभामुखको भूमिका नभाउने बताए । उनले आफू नर्वाचित भइसकेपछि सांसदहरुलाई सहमतिका साथ अघि बढाउने बताए । उनले सभामुख कुनै एक दलबाट नभइ सिंगो प्रतिनिधि सभाबाट चुनिएर जाने भएकाले सभामुखले खेल्ने भूमिकामा कमी नदिने गरी कार्य सम्पादन गर्ने बताए ।
उनले भने, ‘म सभामुख हुनेकुरा निश्चित छ । त्यसलाई विगतका अनुभव र शिक्षाबाट सिकेर व्यवस्थित गर्दै अघि बढ्नुपर्छ । यो दलबाट विजयी बनेर होइन, सिंगो प्रतिनिधि सभाबाट विजयी भएर जाने हो । प्रतिनिधि सभाबाट विजयी भएपछि सभामुखले खेल्ने भूमिका के हुन्छ, त्यो भूमिकामा कमी नभई भूमिका खेल्छु । विगतबाट शिक्षा लिँदै आउँदा दिनमा प्रभावकारी भूमिका निर्वाह गर्नेछु ।’
सत्तारुढ दलहरुको साझा उम्मेदवार रहेका उनलाई एमाले उपाध्यक्ष एवम पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सभामुख पदका लागि प्रस्ताव गरेका छन् भने नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डे, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले समर्थन गरेका छन् ।
प्रतिनिधि सभामा समामुखको निर्वाचन माग ५ गते (भोलि) हुँदैछ । एमाले स्थायी कमिटी सदस्य घिमिरे पहिलो पटक झापा क्षेत्र नम्बर २ का प्रतिनिधि सभामा निर्वाचित भएका थिए । हाल एमाले प्रदेश १ को पार्टी इन्चार्जको भूमिकामा रहेका उनी २०५६ सालमै राष्ट्रिय सभाको सांसद भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया