सभामुखमा कांग्रेसले महिलालाई उम्मेदवार बनाउने

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने भएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले अन्य दलको समर्थन लिएर सभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ ।

सभामुखका लागि कांग्रेसले महिलालाई अघि सार्ने तयारी गरेको छ । पार्टीको पदाधिकारी बैठकमा महिलालाई सभामुख पदका लागि उम्मेदवार बनाउने विषयमा छलफल भएको हो । कांग्रेस उच्च स्रोतकाअनुसार महिलामा तीन जनाको नाममा छलफल भइरहेको छ ।

कांग्रेस सांसद अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र सरिता प्रसाईंमध्ये एक उम्मेदवार बन्ने सम्भावना रहेको छ । यसबारे औपचारिक निर्णय गर्नका लागि दिउँसो १ बजे पार्टीको संसदीय दलको बस्ने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो ।

सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे उम्मेदवार छन् । सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । मतदान बिहीबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?