बढ्दैछ मौरीपालनमा किसानको आकर्षण

तेह्रथुम, ५ कात्तिक ।प्रशस्तै डाँडाकाँडा र रुख बिरुवाले ढाकेको पूर्वी पहाडी जिल्ला तेह्रथुममा मौरीपालन व्यवसाय फस्टाउन थालेको छ ।फुर्सदको समयमा रेखदेख गरे पुग्ने र अन्य व्यवसायमा लागेकाले पनि सजिलै पाल्न सक्ने भएकाले जिल्लाका गाउँदेखि सहरसम्मका किसानले मौरीपालन गरिरहेका छन् ।महको बजार अभाव नभएको र मौरीगोलाको समेत अत्यधिक माग रहेकाले किसानले अन्य पेसा व्यवसायसँंगै मौरीपालन पनि गरेका हुन् । अघिल्लो वर्ष सरकारले देशका ६५ जिल्लामा एकैपटक युवा लक्षित कार्यक्रम अन्तर्गत मौरीपालन व्यवसायमा ठूलो रकम लगानी ग¥यो । तर तेह्रथुमलाई मौरीपालनका लागि सरकारले छनोट गरेन । सरकारीस्तरको कुनै पनि सहयोग नपाएरै पनि यहाँका किसानले मौरीपालनलाई व्यावसायिक समेत बनाएका छन् ।यस व्यवसायमा धेरै सम्भावना हुँदाहुँदै पनि सरकारले हामीहरुलाई उपेक्षा गरेको वसन्तपुरका मौरीपालक किसान चन्द्र कार्कीले बताए ।व्यावसायिक मौरीपालनमा राम्रो सम्भावना देखिएपछि ओख्रेका किसान नोचन्द्र पौडेलले पनि सेरेना जातको मौरी पाल्न थालेका छन ।पराम्परागत रूपमा मौरी पाल्दै आउनुभएका पौडेलले अहिले २५ थान आधुनिक घार बनाएर मौरी पालेका हुन । यो व्यवसायमा जिल्लाको राम्रोसंग फष्टाएकाले त्यसका लागि किसानलाई तालीम, लगानीका लागि सस्तो ब्याजमा ऋण र अनुदानको व्यवस्था हुनुपर्नेमा कुनै पनि सरकारी या गैरसरकारी संस्थाले नसघाएकोे उनले गुनासो गरे ।थोरै मात्र सरकारी सहयोग भए जिल्लामा व्यावसायिक मौरीपालन फस्टाउने साना किसान कृषि सहकारी संस्था वसन्तपुरका अध्यक्ष चित्रबहादुर कार्कीले जोड दिए । उक्त सहकारी मार्फत ३० जनाभन्दा बढी स्थानीय किसानले व्यावसायिक मौरीपालन गरिरहेका छन् ।यस व्यवसायमा किसानको उत्साह, मेहनत र लगानी देखेर जिल्लामा काम गरिरहेको नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन) र बहुसरोकारवाला वन कार्यक्रम (एमएसएफपी) ले लालीगुराँस नगरपालिकाको वसन्तपुरमा मौरीपालक किसानलाई मौरीका गोला र मौरीजन्य उपकरण वितरण गरेर व्यावसायिक मौरीपालनको अभियान नै चलाएको छ ।यहाँका ३० भन्दा बढी मौरीपालक किसान छनोट गरी उनीहरूको समेत न्यून लागतमा करिब रू छ लाख बराबरको मौरीका गोला र मौरीजन्य उपकरण वितरण गरिएको आरआरएनका जिल्ला संयोजक सुमित गौतमले बताए ।मौरीपालक किसानलाई तालीम, क्षमता विकास र मौरीपालन गर्दा आइपर्ने समस्याका बारेमा साना किसान कृषि सहकारी संस्थाले नै प्रशिक्षण दिँदै आएको संस्थाका अध्यक्ष कार्कीले बताए ।सेरेना जातका मौरीका लागि उपयुक्त हावापानी, भौगोलिक वातावरण र चरन आवश्यक हुने भएकाले जिल्लामा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए ।कार्यालयका अनुसार जिल्लामा मुढे, खोपे, अन्य परम्परागत र आधुनिक घारमा समेत गरी १५ हजार थान भन्दा बढी घारमा किसानले मौरी पालेका छन् ।पूर्वी तराईमा मौरीपालनका लागि चरन क्षेत्रको अभाव भएको भन्दै व्यावसायिक मौरीपालक कृषक मौरी चराउनका लागि हिउँद नलाग्दैदेखि पहाडतिर चढ्दै यहाँको तीनजुरे क्षेत्रको जंगलमा समेत आइपुग्ने गरेका छन् ।वर्षेनी हुलका हुल मौरीसहितका घार लिएर चराउन आउनेले ठूलो परिश्रम बिना नै मौरीबाट प्रशस्त आम्दानी लिएको देखेपछि जिल्लाका अन्य किसानलाई पनि प्रेरणा मिलेको छ ।पूर्वी तराईमा भइरहेको औद्योगिक प्रदूषण र बालीनालीमा विषादीको अत्यधिक प्रयोगका कारण मौरीलाई चरनको समस्या भएको झापाको सुरुङगाबाट मौरी चराउन यहाँ आएका किसान कृष्ण अधिकारीले बताए ।पूर्वी तराईमा लामो समयदेखि पानी नपरेका कारण बोटबिरुवा पर्याप्त नफुल्दा मौरीलाई चरन अभाव भएको अधिकारीले बताए । स्वच्छ वातावरण रहेको यहाँको पहाडी वनमा तराईका झापा, मोरङ र सुनसरीलगायत जिल्लाका दर्जनौँ किसानले मौरी चराउन ल्याउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?