उपप्रधानमन्त्री लिङदेनद्वारा पदभार ग्रहण

लोकपथ
0
Shares

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री राजेन्द्र लिङदेनले पदभार ग्रहण गरेका छन् । उपप्रधानमन्त्री पदको सपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उनले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा मंगलबार दिउँसो पदभार ग्रहण गरेका हुन् ।

त्यसक्रममा उनले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको आवश्यक्ता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्य दल बनाउने पहिलो निर्णय पनि गरे । विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यकता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्य दल बनाउने पहिलो निर्णय गरेको नवनियुक्त उपप्रधानमन्त्री लिङदेनले बताए ।

उनले भने, ‘हामीले यो मन्त्रालय अन्तर्गत हुने कामहरुको बारेमा योजनाबद्ध ढंगले कामलाई अगाडि बढाउनका लागि विगतमा भएका कामहरुको अनुभव समेतलाई ध्यानमा राखेर ती सबैलाई अध्ययन गर्दै आगामी ५ वर्षमा ऊर्जा, जलस्रोत र सिंचाईको क्षेत्रमा हामीले योजनाबद्ध ढंगले प्राथमिकतामा राखेर गर्नुपर्ने कामहरु के के हुन ? र, कसरी हामी अगाडि जान सक्छौ ? हाम्रो आवश्यकता र प्राथमिकताहरु निर्धारण गर्न र पाँच वर्षे एउटा रणनीतिक योजना बनाउनका लागि एउटा कार्य दल बनाउने निर्णय अहिले गरेका छौँ ।

तीन सदस्यीय कार्यदल बनाएका छौँ । मन्त्रालयकै सहसचिवको नेतृत्वमा । योजनावद्ध ढंगले काम गरियो भने मात्रै त्यसले ठोस परिणाम प्राप्त गर्न सक्छ । हामी कति अगाडि बढ्यौ भनेर देख्न पनि सकिन्छ । त्यसैले एउटा योजना र रणनीति निर्माण गर्न यो काम उपयुक्त हुन्छ भनेर कार्यदल गठन गरेका छौँ ।’

उनले सनातन धर्ममा विश्वास गर्ने मानिसहरुले कुनै पनि शुभकाम प्रारम्भ गर्दा अथवा शुभकाम गरिसकेपछि त्यसको स्थायित्वको कामना गर्नका लागि आफ्ना पृत्रीहरुलाई सम्झने, आफ्ना भगवानहरुलाई सम्झने, आफ्ना आस्था देवीदेवताहरुसँग जाने परम्परा रहेको बताए ।

‘त्यही परम्परा अन्तरगत हामी सबैको आरद्यदेव पशुपतिनाथमा मन्त्री पदको सपथ ग्रहण गरेपछि आफ्नो कामको प्रारम्भ गर्नु भन्दा अघि पशुपति दर्शन गर्न गएका हौं ।’ उनले भने । मन्त्रालयहरु कुनै पनि राम्रो/नराम्रो नहुने बताउँदै उनले नेपालजस्तो देशको लागि ऊर्जा मन्त्रालयको, त्यसमा पनि त्यहाँ सिँचाई र जलस्रोत जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनु मेरो लागि एउटा महत्वपूर्ण अवसरको रुपमा मैले लिएको उल्लेख गरे ।

नवनियुक्त उपप्रधानमन्त्री लिङदेनले आफूले जिम्मेवारी लिएको मन्त्रालयको काम चुनौतिपूर्ण रहेपनि त्यसलाई अवसरमा बदल्ने दृढता समेत व्यक्त गरे । उनले सञ्चारकर्मीमाझ शुभकाम सुरु गर्नुअघि देवीदेवताको दर्शन गर्न जाने नेपालीहरुको चलन रहेकाले आफूहरु पनि पदभार ग्रहण गर्नु अघि पशुपतिनाथ मन्दिर दर्शन गर्न गएको स्पष्ट पारे ।

उपप्रधानमन्त्री लिङदेनसहित राप्रपाबाट मन्त्री भएका सबैले राष्ट्रपतिबाट सपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?