जसले संसदको कुर्सी भाँचे माइक तोडे उसलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

लोकपथ
532
Shares

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डल मंगलबार विस्तार गरिएकाे छ ।

राष्ट्रिय जनमोर्चा र नेपाल किसान मजदुर पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदको समेत समर्थन पाएका प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री भएकाे २४ औं दिन मन्त्रिपरिषद विस्तार गरेका हुन् । सरकार विस्तारका क्रममा विभिन्न दललाई मन्त्रालय भागबण्डा गरिएको छ ।

जसमा उनको दल नेकपा माओवादी केन्द्रबाट उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठ नियुक्त भएका छन् ।

त्यस्तै सूचना, सञ्चार तथा प्रविधिमन्त्रीमा रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्रीमा सुशीला श्रीपाली नियुक्त भएका छन् ।

भागबण्डा मिलाउनका लागि कतिपय विवादित पात्रलाई समेत मन्त्री बनाइएको छ । ती मध्येका एक हुन् अमनलाल मोदी । जो सरकारको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएका छन् ।

विद्रोही स्वभावका मोदीको संसदमा गरेका कतिपय हर्कतको अहिले पनि आलोचना हुने गरेको छ । दोस्रो संविधान सभाको निर्वाचनमा मोरङ ४ बाट निर्वाचित मोदीले संसदमा बितण्डा मच्चाएका थिए ।

२०७१ साल माघ ५ गते मध्यराती तत्कालिन एकीकृत माओवादीसहित तराइ केन्द्रीत दलका सांसदहरुले विरोध जनाउँदै संसदमा बितण्डा मच्चाएका थिए । बितण्डा मच्याउनेमा सबैभन्दा बढी उग्र मोदी नै थिए । उनले राज्यको सम्पत्ति संसदकाे माइक भाच्ने कुसी फोड्ने लगायतका क्रियाकलाप गरेका थिए ।

उनीहरुको हुलहुज्जतबाट केही मर्यादापालक समेत घाइते भएका थिए । मर्यादापालकले बल प्रयोग नगरेको भए उनीहरुले गर्ने हर्कतले के हुन्थ्यो भन्न सकिने थिएन ।

सो प्रकरणमा संसदमा रडाको मच्चाउनेमा उनीसहित माओवादीका जनार्दन शर्मा प्रभाकर अग्रणी रहेका थिए । सानैबाट कम्युनिष्ट विचारधारा बोकेका मोदी ०५६ सालबाट भूमिगत युद्धमा होमिएका थिए ।

तत्कालिन समयमा संसदको घटना छानबिनका लागि कार्यदल बनाइए पनि न सांसदहरुलाई कारबाही भयो न उनीहरुलाई स्पष्टीकरण नै सोधियो । अझ माओवादी भने घटनाको जिम्मेवारी सभामुखले लिनुपर्ने अडानमा थियो ।

यसरी संसदमा अभद्र व्यवहार गर्ने मोदीलाई भागबण्डा मिलाएर मन्त्री बनाउँदा उनको सो हर्कतबारे चर्चा भइरहेको छ ।

नेपालको समग्र स्थानीय शासन, विकास र सेवा प्रवाहका लागि केन्द्रबाट नेतृत्वदायी महत्वपूर्ण भूमिका निर्वाह गर्ने काम सामान्य प्रशासन मन्त्रालयको हो । तर विवादित पात्रहरुलाई मन्त्रालयको जिम्मेवारी दिँदा गलत सन्देश जाने भन्दै आलोचना भएकाे हाे । उनी मात्र होइन अरू केही विवादित पात्रलाई समेत मन्त्री बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?