काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित नयाँ मन्त्रीहरूलाई शपथ खुवाएकी हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नवगठित मन्त्रिपरिषद्मा लिङ्देन ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री भएका हुन् । त्यस्तै, राप्रपाबाटै ध्रुबबहादुर प्रधान कानून मन्त्री भए, विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षामन्त्री, डिपी अर्याल श्रम मन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी छन् ।
नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराती संस्कृति, पर्यटन मन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका छन् ।
नेकपा एमालेबाट रक्षामन्त्री हरि उप्रेती, परराष्ट्र विमला राई पौडेल, स्वास्थ्य मन्त्रीमा पदम गिरी, महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्री भएका छन् ।
यसअघि गत पुस ११ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ लिँदा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा भौतिक योजना मन्त्री बनाएका थिए। साथै एमाले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान र अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया