सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

लोकपथ
7
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुखमा नेकपा (माओवादी केन्द्र) का भीम भण्डारी निर्वाचित भएका छन् । मंगलबार प्रदेश सभाको सभामुखका लागि भएको तेस्रो पटकको निर्वाचनबाट २९ मत प्राप्त गरी भण्डारी निर्वाचित भएका हुन् ।

कुल ५३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश सभामा मंगलबार भएको मतदानमा ५२ मत खसेको थियो । जसमा भण्डारीको पक्षमा २९ मत विपक्षमा २३ मत परेको थियो । सभामुखमा निर्वाचित भण्डारी बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका सांसद हुन् । प्रदेश सभामा सभामुखका अर्का उम्मेदवार नेपाली कांग्रेसका मानबहादुर रावलको पक्षमा २० मत खसेको थियो ।

यसअघि रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २० र विपक्षमा २८ मत परेको थियो । बैठकमा कांग्रेसका दिवानसिंह, गिता चौधरी र ललिता सुनार निर्धारित समयमा बैठकमा उपस्थित भएनन् । माओवादी केन्द्रकी सांसद लक्ष्मी बिक पनि निर्धारित समयमा बैठकमा उपस्थित भइनन् ।

जसका कारण रावलले तीन मत कम पाएका थिए । सुदूरपश्चिममा २८ पुसमा सभामुख चयनका लागि पहिलो पटक मतदान भएको मतदानमा भण्डारीले २६ र रावलले २३ मत पाएका थिए । दुवै उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा ३० पुसमा पुनः मतदान भएको थियो ।

त्यसमा नागरिक उन्मुक्ति तटस्थ बस्दा दुवैले २२/२२ मत पाएका थिए । प्रदेश सभाका ज्येष्ठ सदस्य शिवराज भण्डारीले तेस्रो पटक माघ २ गते लागि बैठक बोलाएका थिए तर सोमबार राष्ट्रिय शोकका कारण बैठक स्थगित गर्दै आज मंगलबारका लागि तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?