कांग्रेसले राष्ट्रपति पाउने सम्भावना न्यून, राष्ट्रपति र सभामुख एमालेलाई दिन सत्तारुढ दल एकमत

लोकपथ
21
Shares

काठमाडौं । नेपाली कांग्रेसले सहमतिको बाटोबाट राष्ट्रपति पाउने सम्भावना न्यून हुँदै गएको छ ।

सत्तारुढ दलहरुको बैठकले राष्ट्रपति र सभामुख नेकपा एमालेलाई दिन सहमति गरेसँगै कांग्रेसको अपेक्षामा तूषारापात हुने भएको हो ।

गएराति सम्पन्न सरकारसमर्थित दलहरुको बैठकले संवैधानिक पदसहित मन्त्रालय बाँडफाँट टुंग्याएका हुन् । सत्तारुढ दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहित सबै मन्त्रालय ‘प्याकेज’मा टुंग्याएका थिए ।

जसअनुसार राष्ट्रपति र सभामुख गठबन्धनको नेतृत्व गरिरहेको दल नेकपा एमालेलाई दिँदै अरु पद भागबण्डा गरिएको हो । सहमति अनुसार प्रधानमन्त्री पाएको माओवादीले उपराष्ट्रपति तथा राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाउने छ ।

सत्ता गठबन्धनमै रहेर सरकारलाई विश्वासको मत दिएको जनता समाजवादी पार्टी, जसपा र नागरिक उन्मुक्ति पार्टी भने सरकारमा नजाने भएका छन् । भनेअनुसार मन्त्रालय नपाउने भएपछि जसपा सरकारमा नजाने भएको हो भने नागरिक उन्मुक्ति रेशम चौधरीलाई रिहाई नगर्दासम्म नजाने भएको हो ।

दलहरुको सहमति अनुसार नेकपा एमालेले ८ मन्त्री र दुई राज्यमन्त्री पाउँदा नेकपा माओवादी केन्द्रले ४ मन्त्री र एक राज्यमन्त्री तथा रास्वपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ । राप्रपाले भने तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ ।

राष्ट्रपति पाउने अभिलाषासहित पार्टीभित्र तीब्र विरोध हुँदाहुँदै पनि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई मत दिने निर्णय गराएका थिए । जसको पार्टी भित्र र बाहिर आलोचना भएको थियो ।

यद्यपि, प्रधानमन्त्री प्रचण्डले आज आफूलाई विश्वासको मत दिएका दलहरुसँग छलफल गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?