मन्त्रिपरिषद् विस्तारमा जसपा असन्तुष्ट, पदाधिकारी बैठक बोलाइयो

लोकपथ
0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा नजाने भएको छ । मन्त्रिपरिषद् विस्तारलगायतका मागहरु सम्बोधन नभएको भन्दै असन्तुष्ट बनेको जसपा सरकारमा सहभागि नहुने भएको हो ।

केन्द्रीय सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र वन तथा वातावरण मन्त्रालय गरी दुईटा मन्त्रालय जसपाको भागमा परेको थियाे । तर, यी दुईटा मन्त्रालयमा जसपा सन्तुष्ट छैन । हिजो भएको मन्त्रालय बाँडफाँडमा जसपाले असहमति जनाउँदै आएको छ ।

सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा केही कुराहरू समेटिएकाले सरकारलाई समर्थन गरिएको हो तर, सरकारमा जाने विषयमा थप छलफल गरिने जसपाले जनाएकाे छ । सरकारमा जाने, नजाने बारेमा निर्णय गर्न जसपाले आजै पदाधिकारी बैठक बोलाएको छ । पार्टीमा छलफल गरेर थप निर्णय गर्ने बताइएको छ ।

राष्ट्रपति, सभामुख, उपसभामुख, उपराष्ट्रपति लगायत अन्य राजनीतिक तथा संवैधानिक नियुक्तिको विषयमा प्याकेजमै सहमति हुनुपर्ने जसपाले भन्दै आएको छ । जसपासँग १२ जना सांसद छन् । उसले ३ वटा मन्त्रालय तथा उपराष्ट्रमा दाबी गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको थियो ।

सहमति अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ । त्यस्तै माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको हो । नयाँ मन्त्रीको शपथग्रहण दिउँसो १ बजेका लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?