मन्त्रिपरिषद् विस्तार, यी हुन् एमालेबाट बन्ने मन्त्रीहरू ?

लोकपथ
221
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । सत्ता गठबन्धनमा भागबन्डाको टुङ्गो लागेपछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अबेरसम्म बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डामा सहमति जुटाएका थिए । मन्त्रालय विस्तारसँगै नवनियुक्त हुने मन्त्रीहरुको शपथ ग्रहण दिउँसो १ बजे तय गरिएको छ ।

दलहरूबीच भएको सहमति अनुसार नेकपा (एमाले) ले चार मन्त्री र २ राज्यमन्त्री पठाउने भएको छ । एमालेबाट आज थपिने मन्त्रीहरुमा पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारी रहेका छन् । उनीहरु चारैजना यसअघि मन्त्री बनेका थिएनन् ।

यस्तै, नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य विमला पौडेल राई परराष्ट्र मन्त्री बन्ने भएकी छन् । राई यसअघि २०७० सालमा राष्ट्रिय योजना आयोगकी सदस्य भएकी थिइन् । ०७४ सालमा उनी राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी हुन् । राष्ट्रिय सभामा उनको कार्यकाल २०८० को फागुनमा सकिँदैछ ।

त्यसैगरी दुई राज्यमन्त्रीमा रौतहटका किरण साह र पर्साका राजकुमार गुप्तालाई शपथ खुवाउने तयारी रहेको बताइएको छ । यसअघि पुस ११ गते एमालेबाट यसअघि विष्णु पौडेलसहित ज्वाला कुमारी साह,राजेन्द्र राई र दामोदर भण्डारीले मन्त्रीको सपथ लिएका छन् । पौडेलबाहेक अरु मन्त्रीको जिम्मेवारी तोकिएको छैन । आज उनीहरुको जिम्मेवारी समेत तोकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?