नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक

लोकपथ
26
Shares

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ । कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमकाबीच उक्त अभियानको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले शुभारम्भ गरेका छन् ।

सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकाशक्रमसँग आफ्ना ग्राहक तथा अभिकर्ताहरुलाई साक्षात्कार गराउने अभिप्रायले अभियान संचालनमा ल्याइएको बताइएको छ ।

माघ महिनाभर बीमा शुल्कको नवीकरण अनलाईन माध्यमबाट भुक्तानी गर्ने ग्राहकहरुलाई विभिन्न उपहारको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ । भुक्तानी सेवा प्रदायक खल्तीबाट बीमाको नवीकरण शुल्क भुक्तानी गर्ने मध्येबाट हरेक हप्ता एकजना भाग्यशाली विजेतालाई एयरबर्डस प्रदान गरिने छ ।

त्यसैगरी पहिलो पटक खल्तीको प्रयोग गरी बीमा शुल्कको नविकरण गर्ने सम्पूर्ण ग्राहकहरुलाई एक सय रुपैंयाँ क्यास व्याक प्रदान गरिने कुरा समेत कम्पनीले जनाएको छ । प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यसम्पादन गर्न अब्बल रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई–सेवा, खल्ती, फोन–पे, कनेक्ट आइ.पी.एस, आई एम ई–पे र प्रभु–पेसँग सम्झौता गरेको छ ।

यस कम्पनीका ग्राहकहरुले घरै बसी बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने छन् । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबार समेत सुरक्षित हुने विश्वास व्यक्त गरे । आगामी दिनमा कम्पनीलाई झन् प्रविधि मैत्री बनाई ग्राहकहरुलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेको कुरा समेत पराजुलीले बताए ।

२०७९ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी एक खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ रहेको छ भने जीवन बीमा कोष एक खर्ब ४२ अर्ब नौं करोड रुपैयाँ रहेको छ । यसैगरी शेयरधनी कोष ११ अर्ब तीन करोडभन्दा बढी रहेको छ । कम्पनीमा दुई लाख १२ हजार तीन सय ६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब एक सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म एक खर्ब ९७ अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार चार सय २० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?