काठमाडौं । सत्ता साझेदार दलको बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राती सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिए ।
सत्तारुढ दलहरूबीचको पाँच घन्टा लामो छलफलपछि नेकपा एमालेलाई ८, माओवादीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३–३ मन्त्री र एक–एक राज्यमन्त्री दिने सहमति गरेको हो । त्यस्तै जनमत पार्टीले पनि एक मन्त्री पाउने सहमति भएको छ ।
गृहमन्त्री लामिछानेले मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको बताए । ‘कुन कुन पार्टीले कुन कुन मन्त्रालय लिने भनेर टुंगिएको छ । बाँडफाँट टुंग्याएका छौै । भोलि एक बजे अघि टुंग्याउँछौ । केही चेन्ज भएछ भने सल्लाहमा हुन सक्ला’, गृहमन्त्री लामिछानेले बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई बताए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री रवी लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आजै मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल भएको थियो । ओली निवास बालकोटमा भएको लामो छलफलपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारमा आजै सहमति जुट्ने बताएका थिए ।
प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री दाहालले गत पुस ११ गते सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । उनले गत पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया