टुंगो लाग्न नसकेका अपराधको अनुसन्धानलाई प्राथमिकतामा राख्न आइजीपी सिंहको निर्देशन

लोकपथ
28
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) धिरज प्रताप सिंहले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत पुराना टुंगो पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आइजीपी सिंहले सरुवा भई विभिन्न स्थानमा खटिएका प्रहरी नायव महानिरीक्षक (डिआइजी) तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई सो निर्देशन दिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक रूपमा पारदर्शीताको नीतिलाई अवलम्बन गर्दै तस्करी नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्न समेत उनले आग्रह गरे।

कार्यक्षेत्रमा गरेको कामको मूल्याङ्कनको आधारमा प्रहरी अधिकृतहरूको पदोन्नति हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आफूले गरेको कामको मूल्याङ्कन सापेक्ष रूपमा देखिने गरी तथ्याङ्‍कमा हुनुपर्ने र त्यही नै आफ्नो कामको जावफदेहीता रहने हुँदा सोहीअनुरूप कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । त्यस्तै योग्यताको आधारमा जिम्मेवारी दिइएको बताउँदै उनले प्रहरी अधिकृतहरूले उत्कृष्ट रूपमा आफ्नो जिम्मेवारी पूरा गर्ने अपेक्षा राखिएको उल्लेख गरे।

सरकारले अंगिकार गरेको समृद्धि सहितको सुशासन एजेण्डालाई नेपाल प्रहरीले पनि प्राथमिकतामा राखेको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रदेश सरकार एवम् स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गरी आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताए ।

सो क्रममा प्रहरीको आचरण एवम् व्यवहारलाई थप सुदृढ गर्दै लैजानुपर्ने र आफ्नो मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उत्प्रेरित गर्दै उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?