मधेस प्रदेश : सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

लोकपथ
78
Shares

काठमाडौं । मधेस प्रदेशसभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मंगबारका लागि तय गरिएको छ ।

आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण संघीय सरकारले राष्ट्रिय शोक बिदा दिएकाले आजका लागि तोकिएका कार्यक्रम स्थगित गरी भोलिका लागि तय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

यसअघि आज दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नाम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । प्रदेशसभा सचिवालय सचिव यादवले प्रदेशसभा अध्यक्ष गोविन्दबहादुर न्यौपाने र मुख्यमन्त्री यादवको समन्वयपछि भोली मङ्गलबार दिउँसो १ बजेका लागि बैठक सारिएको बताए ।

मुख्यमन्त्री सरोजकुमार यादवले पनि विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि र परिवारजनमा गहिरो दुःख व्यक्त गर्दै देश शोकमा डुबेको र राष्ट्रिय शोक बिदा दिइएकाले आफूले भोलिको बैठकमा विश्वासको मत लिने जानकारी दिए ।

गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए भने सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जङ्गीलाल रायको उम्मेदवारी दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?