ऊर्जा मन्त्री र प्रदेश २ का मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । 

शनिवार बिहान जनकपुरस्थित मुख्यमन्त्री राउतको निवासमा भएको भेटवार्ता कर्मचारी व्यवस्थापन र उर्जा, जलस्रोत सिंचाइ मन्त्रालय मातहतको आयोजनाको विषयमा छलफल भएको हो । 

साथै मुख्यमन्त्री राउतले यही मंसिर २६ गते हुने विवाहपञ्चमीमा सहभागी हुन भारतीय जनता पार्टीका नेतासमेत रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउन लागेको विषयमा समेत जानकारी गराएका थिए ।  

प्रदेश सरकारले आदित्यनाथको भ्रमणको सम्पूर्ण तयारी गरिसकेको उनले बताए । 

भेटमा दुई नम्बर प्रदेशमा सञ्चालित उर्जा र सिंचाइका आयोजनाहरुको बारेमा समेत छलफल भएको थियो । 

ऊर्जा मन्त्री पुनलाई मुख्यमन्त्री राउतले सुनकोशी कमला डाइभर्सनले सप्तरी, सिराहालगायतका जिल्लाहरु सिंचाइबाट लाभान्वित हुने जानकारी दिएका थिए भने जवाफमा ऊर्जामन्त्री पुनले सुनकोशी कमला डाइभर्सन मन्त्रालयको उच्च प्राथमिकतामा रहेको बताए । साथै यसले २ नम्बर प्रदेशको विकासमा ठूलो योगदान पुर्याउने दाबी समेत गरे । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?