नवलपरासी । सांसद विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकास र स्थानीयका समस्याबारे नागरिकसँग आज छलफल गरेका छन् । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरीले निर्वाचन क्षेत्रको समग्र विकासका बारेमा स्थानीयसँग छलफल गरेका हुन् ।
सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाका विभिन्न वडामा पुगेर सांसद चौधरीले स्थानीयसँग विकास निर्माण र स्थानीय समस्याबारे छलफल गरे । सो क्रममा चौधरीसमक्ष स्थानीयले बाढी, डुबान र सिँचाइको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे ।
सरावल गाउँपालिका–६ का झिङ्कुसिंह चौधरीले डुबानले बर्सेनि समस्या हुने गरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । ‘हामीले प्रत्येक वर्ष डुबानको समस्या झेल्दै आएका छौँ । सरकारले सधैँ आश्वासन मात्रै दिन्छ तर कहिल्यै पनि समस्या समाधानका लागि गम्भीर देखिएन,’ उनले भने, ‘तपाइँ सांसद निर्वाचित हुनुभएको छ ।
अब हाम्रो यो समस्या समाधान हुनेछ भन्ने आशा गरेका छौँ ।’ त्यस्तै प्रतापपुर गाउँपालिका–५ का रामजी सिंहले सिँचाइको समस्याबारे अवगत गराएका थिए । ‘सिँचाइको भरपर्दाे व्यवस्था नहुँदा किसानहरुले ठूलो समस्या भोग्दै आएका छौँ,’ उनले भने, ‘सिँचाइको समस्या समाधानका लागि नहरमा नियमित पानी आउने व्यवस्था गर्नुपर्छ ।’
उनले पश्चिम नवलपरासीको दक्षिण क्षेत्रमा बर्सेनि हुने डुबानको समस्या समाधानका लागि पहल भइसकेको बताए । उनले नेपाल सरकार र भारत सरकारबीच नै डुबान समस्याका बारेमा उच्च तहमा छलफल भइरहेको बताए । त्यस्तै उनले निर्वाचन क्षेत्रको समग्र विकासका लागि स्पष्ट कार्ययोजनासहित खाका बनाउने काम पनि भइरहेको बताए ।
सोही अवसरमा प्रदेशसभा सदस्य सन्तु कलवारले यस क्षेत्रको बाढी तथा डुबानको समस्या समाधान गर्न प्रतिनिधिसभा सदस्य चौधरीसँग समन्वय गरेर आफूले पनि काम गरिरहेको जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया