काठमाडौं । काठमाडौंबाट पोखरा उडेको यती एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये हालसम्म २४ जनाको शव सनाखत भएको छ ।
दुर्घटनामा परेकामध्ये हालसम्म २४ शवको सनाखत भएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख टेकबहादुर केसीले लोकपथलाई जानकारी दिए ।
‘हालसम्म २४ शवको अनुहार चिनिने अवस्थामा रहेको छ । ती सबैको सनाखत भएको छ ।’ उनले भने ।
त्यसैगरी हालसम्म ३१ शव पोखरा गण्डकी अस्पतालमा पुगेको उनले बताए । साथै बाँकीको उद्दार कार्य जारी रहेको छ ।
‘हालसम्म ३१ जनाको शव पोखरा गण्डकी अस्पतालमा आइपुगेको छ । बाँकीको उद्दार कार्य जारी रहेको छ ।’ उनले भने ।
दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा नेपाली ५३ जना, विदेशीमा भारतीय ५, रसियन ४, आयरल्याण्ड १, अस्टे«लियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १, गरी जम्मा ६८ जना यात्रुहरु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सदस्य रहेका थिए ।
आज (आइतबार) बिहान १० बजेर ५० मिनेटमा पोखरा विमानस्थलको कन्ट्रोल टावरसँग अन्तिम सम्पर्क भएपछि विमान दुर्घटनाग्रस्त भएको थियो ।
उनका अनुसार पोखराबाट उद्धारका लागि २ वटा हेलिकप्टर नाइनएन जेएलएक्स र नाइनएन केएनए परिचालन गरिएको छ । उद्धारका लागि थप हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने उद्धारको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, रेस्क्यु एण्ड फायर फाइटिङ दल तथा नेपाल प्रहरीसमेत संलग्न भइ उद्धार कार्य भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया