नागरिक उन्मुक्ति तटस्थ बस्दा सुदूरपश्चिम प्रदेशले पाएन सभामुख

लोकपथ
52
Shares

धनगढी । नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा शनिबार पनि सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयन हुन सकेन । सभामुख चयनका लागि दोस्रो पटक भएको निर्वाचनबाट पनि सभामुखका लागि बनेका उम्मेदवारले बहुमत नपाएपछि सुदूरपश्चिम प्रदेश सभाले सभामुख पाउन नसकेको हो ।

सत्ता पक्षसँग असन्तुष्ट भएपछि नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद तटस्थ बसेका थिए । सभामुखका उम्मेदवार माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारी र कांग्रेस सांसद मानबहादुर रावलले निर्वाचित हुनका लागि आवश्यक ५१ प्रतिशत मत पाउन नसकेका हुन् ।

सत्ता गठबन्धनको उम्मेदवार भण्डारीलाई सभामुख चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा जम्मा २२ मत खसेको थियो । ५३ सदस्यीय प्रदेशसभामा सभामुख निर्वाचित हुन कम्तीमा २७ मत ल्याउनुपर्छ । त्यस्तै नेपाली कांग्रेसका सभामुखका उम्मेदवार मानबहादुर रावलले पनि २२ मत पाए ।

सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयनका लागि यसअघि बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत पाए भने कांग्रेसका रावलले २३ मत पाएका थिए । सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् । निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेपछि सुदूरपश्चिम प्रदेशसभामा कुनै पनि निर्णयको पक्ष र विपक्षमा बहुमत पुग्न सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?