नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
39
Shares

काठमाडौं । नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरण सभाले सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

३८ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले यसवर्ष पनि ‘क’ वर्गको बैंकहरूमध्ये उच्चतम लाभांश दिँदै नेपालको अग्रणी वाणिज्य बैंकको पहिचानलाई निरन्तरता दिन सफल भएको जानकारी दिएको छ । सभाले संस्थापक सेयरधनी समूहतर्फका तीन पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिबलाई सञ्चालकमा निर्वाचित गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा बैंकले चार अर्ब २५ करोड ६० लाख रुपैयाँ मुनाफा हासिल गर्न सफल भएको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपछि बैंकको चुक्ता पुँजी २७ अर्ब रुपैयाँ नाघेको छ ।

बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न सफल भएको सभाका अध्यक्ष पौड्यालले बताए ।

उनले बैंकको संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै आगामी दिनमा निरन्तरता दिने प्रतिवद्धता गरेका छन् । बैंकले स्थापना कालदेखि हालसम्म १९ अर्ब रुपैयाँभन्दा बढी रकम करको रूपमा देशको राजस्वमा योगदान गरिसकेको बताएको छ । बैंकले २४० वटा शाखा, २७५ वटा एटिएम र ८ वटा रेमिट एजेन्टका साथ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?