काठमाडौं महानगरको संशोधित बजेट नगरसभामा पेश

लोकपथ
26
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षका लागि रु दुई अर्ब ७२ करोड ६९ लाख ६३ हजारको संशोधित बजेट नगरसभामा पेश गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आज सुरु भएको नगरसभामा उपप्रमुख सुनिता डंगोलले उक्त संशोधन प्रस्ताव पेश गरेकी हुन् । चालू आर्थिक वर्षका लागि स्वीकृत चार अर्ब ३६ करोड ७१ लाख सात हजार रुपैयाँ बजेटका कार्यक्रमलाई संशोधनमा लगिएको हो ।

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ अनुमानित बजेट तथा कार्यक्रम स्वीकृत गरेको थियो । सभामा लेखाप्रतिवेदन प्रस्तुत गर्दै लेखा समितिकी संयोजक गायत्री पुडासैनीले आव २०७७/७८ को अन्तिम लेखा परीक्षण प्रतिवेदन प्राप्त भएको जानकारी दिइन् ।

त्यस आर्थिक वर्षमा बेरुजु देखिएको एक अर्ब सात करोड १२ लाख रुपैयाँमध्ये प्रारम्भिक प्रतिवेदनको माध्यमबाट ३७ लाख ८१ हजार रुपैयाँ फस्र्यौट भएको छ । सभामा विधायन समितिका संयोजक एवं वडा २३ का अध्यक्ष मचाराजा महर्जनले विधेयक तथा संशोधन गर्नुपर्ने ऐन सम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

यसरी पेश भएका दुई विधेयकमा नगर प्रहरी र सार्वजनिक निजी साझेदारी तथा लगानीसम्बन्धी छन् । संशोधन गर्नुपर्ने बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, कर्मचारीको सेवा सर्तसम्बन्धी ऐन, २०७७ र आर्थिक ऐन २०७९ संयोजक महर्जनले पेश गरे ।

पेश भएका विधेयक तथा ऐनको दफावार छलफलका लागि विधायन समितिमा पठाइएको छ । समितिले यी दस्तावेज नगरसभाको आगामी बैठकमा पेश गर्नेछ । सभामा सुशासन समितिका संयोजक एवं वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले काठमाडौं महानगरपालिकाको संगठन संरचना, दरबन्दी संरचना र केही पद नामको कार्य विवरण संशोधनसम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७९ को दफा ५ उपदफा १ बमोजिम प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति र सुशासन समितिको निर्णयका आधारमा संयोजक तिवारीले प्रस्ताव पेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?