सिँधुवा बजारको आगलागीबाट ६ घरमा क्षति, दुई घण्टापछि आगो निभाइयो

लोकपथ
0
Shares

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा शुक्रबार साँझ भीषण आगलागी भएको छ । बजारको काउली चोकको सन्तोष राईको घरबाट बेलुकी ७ बजेतिर सुरु भएको आगलागीले बजारका ६ वटा घरमा क्षति पुगेको छ ।

घटनामा दुई घर पूर्ण क्षति र चारमा आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ । आगो दुई घण्टापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले निभाएको स्थानीयबासी दीपक खड्काले जानकारी दिए । आगो निभाउन धनकुटा नगरपालिका र तेह्रथुमको लालीगुराँस नगरपालिकाको दमकलसमेत परिचालन गरिएको थियो ।

छथर जोरपाटीको एक्स्काभेटरसमेत प्रयोग गरिएको थियो । आगलागीबाट सन्तोष राई र झमक थापाको घर पूर्णरुपमा क्षति पुगेको छ । यसैगरी, होमबहादुर थापा, डिकबहादुर खड्का, अर्जुन घिमिरे र डम्बरबहादुर थापाको घर आंशिक क्षति पुगेको छ ।

समयमै दमकल र जनशक्ति जुटेकोले आगो नियन्त्रणमा आएको स्थानीयको भनाइ छ । आगो निभाउनका लागि धनकुटाबाट थप प्रहरी घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी धनकुटाले जानकारी दिएको छ । प्रमुख एसपी लक्ष्मीराज अधिकारीका अनुसार घटनाबाट मानवीय क्षति भने नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?