खुला आकाशमा त आए सन्दीप, के हुन्छ क्रिकेट जीवन ? (भिडियो रिपोर्ट)

काठमाडौं । सन्दीप लामिछाने, नेपाली क्रिकेट टिमका पूर्वकप्तान । उदीयमान स्पीनर । देश मात्र नभई विदेशमासमेत खेलेर नाम कमाएका एक होनाहार युवा खेलाडी । नेपाली क्रिकेटरहरुका लागि सपना जस्तो लाग्ने भारतीय क्रिकेट लीग, आइपीएलमा पहिलो पटक सहभागी ।

त्यसयता संसारका विभिन्न राष्ट्रमा हुने लीग खेलमा सहभागी । तिनै

खेलाडी एक नाबालिका बलात्कारमा मुछिएपछि जेलमा मात्र परेनन्, ९९ सय दिन जेलको कालो कोठरीको यात्रा गरेर अदालतको आदेशमा रिहा भएका छन् ।

गत भदौ २१ गते एक नाबालिकाले क्रिकेटर सन्दीप लामीछानेविरुद्ध गौशाला प्रहरीमा जाहेरी दिएपछि लामिछाने एकाएक समाचारहरुको हेडलाइन बने । जाहेरीपछि प्रहरीले नेपाल बाहिर रहेका लामिछानेको नेपाल फर्कने दिन कुर्दै बसेको थियो । निकै समय सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई पक्रन इन्टरपोलको सहयोगसमेत माग्यो । त्यसैक्रममा असोज २० गते नेपाल आइपुगेका सन्दीप विमानस्थलबाटै प्रहरी थुनामा लगिएका थिए ।

नेपाल आएलगत्तै अनुसन्धानका लागि प्रहरी थुनामा रहेका उनलाई काठमाडौं अदालतले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठायो । पुर्पक्षका लागि थुनामा पुगेका उनले उच्च अदालत पाटनमा अनुसन्धानमा सहयोग गर्ने बाचा गर्दै थुना बाहिरै रहेर मुद्दा लड्न पाउँ भन्दै याचना गरे । उक्त निवेदनको सुनवाइ गर्दै उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटीमा लामिछानेलाई थुना मुक्त गर्न आदेश दियो । उक्त आदेशपछि २० लाख धरौटी तिरेर उनी शुक्रबार थुनामुक्त भएका हुन् ।

यद्यपि, सन्दीपलाई थुनामुक्त गर्ने आदेश दिँदा अदालतले केही प्रतिबन्धहरु लगाएको छ । अर्थात् उनी जेल बाहिर त रहन सक्छन् तर, उनले अरुसरह पूर्ण स्वतन्त्रताको उपभोग भने गर्न पाउने छैनन् ।

१. मुद्दाको फैसला नभएसम्मका लागि सन्दीपलाई नेपाल बाहिर जानबाट रोक लगाइएको छ । उनको नाममा जारी भएको राहदानी रोक्का गर्न भनिएको छ । यसको कार्यान्वयनका लागि गृह र परराष्ट्र मन्त्रालयलाई लेखेर पठाउन भनिएको छ ।

२. जाहेरीकर्ता, पीडित वा उनको परिवारको सदस्यको सम्बन्धमा वा विचाराधीन मुद्दाको विषयमा कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय वा सार्वजनिक सञ्चार माध्यम वा सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी वा धारणा व्यक्त गर्न पाइने छैन ।

३. आफू वा आफू सम्बद्ध संस्था वा व्यक्तिहरूबाट जाहेरीकर्ता, पीडित वा उनको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्न पाउँदैनन् । जाहेरीकर्ता, पीडित वा उनको परिवारको सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्ने वा दुरूत्साहन दिने वा सो सम्बन्धी कुनै कार्य नगर्न÷नगराउन निषेधात्मक आदेश दिइएको छ ।

४. कुनै काम विशेष कारण सन्दीपले काठमाडौं उपत्यका छोड्नु परे, छोड्नुअघि जिल्ला प्रहरी परिसर काठमाडौंलाई सोबारे लिखित जानकारी दिनुपर्ने छ । सो जानकारीमा काठमाडौं उपत्यका छोड्ने र फर्कने मिति तथा उपत्यकाबाहिर रहने स्थान समेत खुलाउनु पर्नेछ ।

५. यी आदेश पालनाको प्रभावकारिताको प्रयोजनका लागि सन्दीपको गतिविधिको निगरानी गर्ने एवं उनको मोबाइल नम्बर वा विवरणको सञ्चार अभिलेख गर्न प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्नेछ । त्यसरी पहुँच राखिएका र अभिलेख गरिएका सामग्री वा विवरणको गोप्यता भंग नहुने व्यवस्था मिलाउनुपर्ने छ । जिल्ला अदालतले माग गरेका बखत त्यस्ता सामग्री वा विवरण उपलब्ध गराउनु पर्नेछ । यसको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिन भनिएको छ ।

यी शर्तहरू उल्लंघन गरेको पाइएमा अदालतले उनलाई फेरि थुनामा पठाउन सक्नेछ । धरौटी माग गरिएको भए पनि उक्त आदेश स्वतः निष्क्रिय भएको मानिने आदेश दिँदै अदालते सन्दीपको स्वतन्त्रतामा आंशिक कटौति गरिदिएको छ ।

काठमाडौं जिल्ला अदालतमा चलिरहेको यस मुद्दामा पुर्पक्षका लागि सन्दीपलाई जेल पठाउने आदेश अदालतले दिएको भए पनि माथिल्लो अदालतले धरौटीमा छाड्न भनेपछि उनले केही राहत त पाएका हुन् । २० लाख घरौटी बुझाएर थुनामुक्त भएपनि उनको मुद्दामाथि अब काठमाडौं जिल्ला अदालतले निरन्तर सुनुवाई गर्नेछ । अन्तिम फैसला नआएसम्म उनको अवस्था के हुने भन्ने यकिन हुनेछैन । त्यसका लागि अदालतमा कति लामो समय लाग्छ भन्ने विषयले नै निश्चित गर्नेछ ।

के हुन्छ क्रिकेट जीवन ?

सन्दीपलाई पाटन अदालतले धरौटीमा रिहा गर्न आदेश दिएसँगै अब सन्दीप खेल जीवनमा फर्कन्छन् वा फर्कन्न् भन्ने चासो सर्वत्र भएको छ । जिल्ला अदालत काठमाडौंबाट मुद्दाको किनारा लागि नसकेकाले उनलाई सामाजिक जीवनमा सहज हुन गाह्रो छ । सबै कठिनाईहरुलाई चिरेर सन्दीपले आगामी यात्रा बढाउनुपर्ने हुनसक्छ ।

नेपाल क्रिकेट संघले पनि सन्दीप धरौटीमा रिहा भएमा कानुनी परामर्शका आधारमा अगाडी बढ्ने जनाएको छ । तर क्यानको सन्दीप प्रतिको संकेत भने सकारात्मक देखिएको छ ।

अरु देशमा पनि यस्ता सेलिब्रेटी छबी बनाएकाहरु अनेक मुद्दामा पर्ने गरेका छन् । उनीहरुले धरौटीमा रहेर मुद्दा पनि लड्ने र आफ्नो व्यवसायिक कर्मलाई पनि सँगै अगाडी बढाउने गरिरहेका देखिन्छन् । उसोत, नाबालिका बलात्कार जस्तो संगीन आरोपले घेरिएका उनलाई आफ्नो व्यवसायिक जीवन सहज गर्न सजिलो त पक्कै छैन ।

तर, दोषी प्रमाणित नहुँदासम्म प्रत्येक आरोपीले सफाई पाउने सम्भावना उत्तिकै रहन्छ । उच्च मनोबल र संयमित जीवन मार्गले मात्र यस्ता परिस्थितिलाई अनुकूल बनाउन सकिनेमा सन्दीपले ख्याल गर्न सक्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?