सिराहामा अपाङ्ग महिला बलात्कृत, साउनमा भएको घटनाका आरोपी अझै फरार

लोकपथ
35
Shares

काठमाडौं । सिराहाको सुखिपुर ३ मा अपाङ्गता भएकी एक महिला बलात्कृत भएको ६ महिनासम्म पनि आरोपी पक्राउ नगर्दा पीडित र आफन्तजन तनाबमा परेका छन् ।

आफ्नो परिवारका अपाङ्ग भएकी सदस्यलाई गरिएको बलात्कारबारे इलाका प्रहरी कार्यालय महेश्वर पतारामा किटानी जाहेरी दिँदा पनि कुनै कार्वाही नभएको गुनासो परिवारजनको छ ।

गत साउनमा बलात्कार भएको दाबी गरेको परिवारले जाहेरी भने पुस पहिलो हप्ता मात्रै दिएको इलाका प्रहरी कार्यालय महेश्वर पताराका प्रहरी निरीक्षक केशव कटुवालले लोकपथलाई जानकारी दिए ।

‘घटना साउनमा भएको रहेछ । परिवारले पुस पहिलो सातामात्रै जाहेरी दिनु भयो । जाहेरी पछि हामीले अनुसन्धान शुरु गरिसकेका छौँ । मुद्दा पनि दर्ता भइसकेको अवस्था छ,’ प्रहरी निरीक्षक कटुवालले बताए ।

पीडितका घरमा हाल उनको आमा बाबुमात्रै छन् । उनका भाइहरु रोजगारीका सिलसिलामा कतारमा छन् । कतारमा रहेका पीडितका भाइ अन्दीप मण्डलले आफ्नो सामाजिक सञ्जालमार्फत् नै आफ्नी दिदीमाथि बलात्कार भएको भन्दै न्यायको याचना गरेका छन् । दिदीमाथि स्थानीय चन्दन यादवले बलात्कार गरेको आरोप उनले लगाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘दिदी बाख्रा चराउन जाँदा मेरै गाउँको चन्दन यादवले जबर्जस्ती करणी गरेका हुन् । मेरो दिदी राम्रोसँग बोल्न सक्दैन, हिड्न सक्दैन त्यसैको फाइदा उठाई बारम्बार जबर्जस्ती करणी गरी मेरो दिदीको पेटमा बच्चा बोकाई अहिले उल्टै चन्दन यादवको परिवारले मेरो आमालाई गाली बेइज्यती र कुटपिट गरिरहेको छ । किनभने हामी पीडित विपन्न वर्गका परेको हुनाले कोही कसैले चासो राख्दैन । दिन प्रतिदिन मेरो दिदीको समस्या जटिल हुँदैछ ।’

यसबारेमा आरोपी चन्दनका बाबुले उल्टै थर्काउने गरेको भन्दै उनले लेखेका छन्, ‘तिमीहरू जस्ता धानुकले केही गर्न सक्दैनांै । म अदालतलाई किनिहाल्छु । प्रहरीलाई किनिहाल्छु सरकारी वकिललाई किनिहाल्छु ।’
इलाका प्रहरी कार्यालय महेश्वर पताराका प्रहरी निरीक्षक केशव कटुवालले भने चन्दन यादव फरार रहेकाले खोजी भइरहेको जानकारी दिए ।

‘हामीले जाहेरी परेकै दिनबाट बलात्कारका आरोपी चन्दन यादवको खोजी शुरु गरेका छौँ । पीडितको स्वास्थ्य परीक्षण लगायतका काम पनि गरिसकेका छौंँ । छिट्टै फरार रहेका यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्छौं,’ उनले भने ।

जाहेरी दिएको महिना दिन हुन लाग्दा पनि प्रहरीले आरोपीलाई नपक्रेको भन्दै गुनासो पीडित परिवारको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?