समयसँगै सबै कुरा बाहिर आउँछ भन्दै घर लागे सन्दीप (भिडियोसहित)

लोकपथ
312
Shares

काठमाडौं । नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले ९९ दिन लामो जेल जीवनपछि आज थुनामुक्त हु्ँदै घर पुगेका छन् ।

कारागारबाट धरौटी तिरेर थुनामुक्त हुने बित्तिकै पत्रकारहरुसँग उनले समयसँगै सबै कुरा बाहिर आउने भन्दै धैर्य गर्न आग्रह गरे ।

उच्च अदालत पाटनले दिएको आदेश बमोजिम २० लाख धरौटी तिरेर रिहा भएका उनलाई केन्द्रीय कारागारबाट निस्कने क्रममा उनका समर्थकहरुले घेरेर अगाडी बढ्नै नदिएपछि उनले त्यही सम्बोधन गरे ।

त्यसअघि सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले यो कुनै हारजित नभएको भन्दै यो मुद्दाका बारेमा कुनै पनि टिकाटिप्पणी नगर्न अदालतले दिएको आदेश सम्झाए । उनले भने, ‘कानुन व्यवसायी, सन्दीप र पत्रकारलाई रोकेको छ । यस विषयमा कुनै टिकाटिप्पणी हुने छैन । २० लाख धरौटी राखेर सन्दीप बाहिर निस्केका छन् । सन्दीपले एकदुई शब्द मात्र बोल्न चाहेको मैले बुझेको छु । त्यसपछि सन्दीप गाडीमा फर्कन्छ ।’

त्यसपछि समर्थकहरुलाई शान्त हुन आग्रह गर्दै सन्दीपले भने,‘ अघिनै हाम्रो वकिल सरोज दाईले भनेजस्तै अदातलबाट जे आदेश भएको म त्यसलाई नै सम्मान गरेर अघि बढिराखेको छु । र यो आदेशलाई सम्मान गर्ने नै छु । जित हार भन्दा पनि न्याय कानुनको तर्फबाट जे आउँछ । त्यही अनुसार अघि बढ्नेछु ।’

गाडी चढ्नुअघि उनले थपे, ‘अहिलेका लागि म आफनो परिवार बाहेक केही सोच्न सकिराखेको छैन । केही समय मलाई मेरो परिवारको साथ चाहिन्छ । तपाईहरुको अपार मायाको लागि एकदमै धेरै धन्यवाद । अहिले म धेरै प्रतिक्रिया पनि दिन सक्दिन । दिने हालतमा पनि छैन । र समयसँगै सबैकुरामा सबैको सामु नै आउँछ । धन्यबाद ।’

एक नाबालिका बलात्कार गरेको आरोपमा उनी गत असोज २० गते पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?