सन्दीपलाई के गर्ने भन्नेमा क्यान परामर्शमा, खेल्न दिने सम्भावना

काठमाडौं । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने अदालतको आदेशमा आज (शुक्रबार) थुनामुक्त हुँदैछन् । उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटीमा शर्तसहित छाड्न आदेश दिएपछि सन्दीप थुनामुक्त हुन लागेका हुन् ।

न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै २० लाख धरौटीमा सशर्त छाड्न आदेश दिएको हो ।

एक नाबालिकाले भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरीमा जाहेरी दिएपछि असोज २० गते नेपाल फर्किएका उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाटै पक्रेको थियो । नाबालिका बलात्कारको आरोपमा कात्तिक १८ गते सन्दीप पुर्पक्षका लागि थुनामा परेका थिए ।

सन्दीपको मुद्दामा अब के हुन्छ ?

सन्दीपको मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा रहेको छ । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको थियो । सन्दीपले आफूलाई जेल बाहिर रहेर नै अनुसन्धान गर्न आग्रह गरेका थिए । जिल्ला अलदालत काठमाडौंको आदेशपछि थुनामा रहेका लामिछानेले उच्च अदालत पाटनमार्फत् थुना बाहिरै रहेर मुद्दा लड्ने अनुमति पाएका हुन् ।

२० लाख घरौटी बुझाएर थुनामुक्त भएपनि उनीमाथि काठमाडौं जिल्ला अदालतले मुद्दालाई निरन्तरता दिनेछ । धरौटीमा रिहा भएपनि सन्दीपले नेपाल छाड्न पाउने छैनन् भने जिल्ला अदालतको अनुमति बिना काठमाडौं नै पनि छाड्न पाउने छैनन् । अदालतले बोलाएको समयमा सन्दीप हाजीर हुनुपर्ने हुन्छ ।

‘मुद्दाको फैसला नभई थुनाबाहिर रहेर अनुसन्धानलाई सघाउन सन्दीपले शर्तहरु स्वीकारेकाले मात्र उच्च अदालत पाटनले बाहिर बसेरै मुद्दाको प्रतिरक्षा गर्न सहुलियत दिएको हो । मुद्दाको अन्तिम फैसलासम्मको कार्यविधि भने काठमाडौं जिल्ला अदालतमार्फत् नै हुने छ,’ अधिवक्ता विकाश भट्टराईले लोकपथसँग भने ।

के भन्छ नेपाल क्रिकेट संघ क्यान ?

सन्दीपलाई पाटन अदालतले धरौटीमा रिहा गर्न आदेश दिएसँगै अब सन्दीप खेल जीवनमा फर्कन्छन् वा फर्कन्न् भन्ने चासो सर्वत्र भएको छ । जिल्ला अदालत काठमाडौंबाट मुद्दाको किनारा लागि नसकेकाले उनलाई सामाजिक जीवनमा सहज हुन गाह्रो छ । सबै कठिनाईहरुलाई चिरेर सन्दीपले आगामी यात्रा बढाउनुपर्ने हुनसक्छ ।

नेपाल क्रिकेट संघले पनि सन्दीप धरौटीमा रिहा भएमा कानुनी परामर्शका आधारमा अगाडी बढ्ने जनाएको छ ।

‘यसबारेमा हामी कानुनी परामर्श गर्छौं । छलफल गर्छौं । त्यस अनुसारले अगाडी बढ्छौं,’ नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लोकपथसँग भने, ‘सन्दीप नेपाली क्रिकेट टोलीका लागि निकै महत्वपूर्ण खेलाडी हुन् । उनको आवश्यकता नेपाली क्रिकेटलाई छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?