अवैध लागुऔषधसहित चारजना पक्राउ

लोकपथ
13
Shares

काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ चालिसे बगर बस्ने ४० वर्षीय धनकुमार वाईबालाई अवैध लागुऔषध गाँजा करिब १ किलो सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सप्तरीको बोदेबर्साईन नगरपालिका–१ मनहौरी बस्ने बिलटु भन्ने ६८ वर्षीय विश्वनाथ यादवलाई अवैध लागुऔषध गाँजा करिब १ किलो १ सय २० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बोदेबर्साईन र प्रहरी चौकी सिस्वाबेल्हीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैयाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ११ ग्राम ७ सय ६० मिलिग्राम सहित पुनर्वास नगरपालिका–८ कंकड बस्ने ३१ वर्षीय बासुदेव रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१–०११ प ११४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक बासुदेवलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । धुनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने २५ वर्षीय बिनोदकुमार शर्मालाई अवैध लागुऔषध गाँजा करिब २ किलो ७ सय २० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिनोदले ज.४ प ५८०१ नम्बरको मोटरसाइकलमा उक्त लागूऔषध बोकी महेन्द्रनगरतर्फ जाँदै गरेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनको घर वरपर तलासी गर्दा सोही ठाउँस्थित बाँसघारीमा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?