धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा ‘प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने दुई छुट्टाछुट्टै प्रस्तावमा बहुमत सदस्य संख्या नपुग्दा अस्वीकृत भएको छ ।
प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काले पेस गरेको प्रस्तावमा गरिएको मत विभाजन ‘हुन्न’ भन्ने पक्षमा २६ मत पाउँदा ‘हुन्छ’ भन्ने पक्षमा २३ मत परेको थियो । उनको समर्थकमा पृथ्वीबहादुर सिंह छन् ।
यसैगरी प्रदेशसभा सदस्य भीमबहादुर भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेकपा एमालेकी जानकी ऐर बमले राखेको अर्को प्रस्तावमा भएको मत विभाजनमा ‘हुन्छ’ भन्ने पक्षमा २६ र ‘हुन्न’ भन्ने पक्षमा २३ मत परेको थियो । उनको समर्थकमा माओवादी केन्द्रकी गीतादेवी माल छन् ।
मत विभाजनमा ५० जनाले भाग लिएकामा एक जनाको मत बदर भएको थियो । सभामुखमा निर्वाचित हुनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा मत विभाजनको प्रक्रियाद्वारा सभामुखको निर्वाचन सुरु हुँदा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र सत्तापक्ष एमालेका चक्रबहादुर मल्ल अनुपस्थित रहेका थिए ।
सभामुखको भूमिकामा रहेका शिवराज भट्टले मत विभाजनमा भाग लिनु भएन । सभामुखको भूमिकामा रहेका भट्टले आवश्यक बहुमत सदस्य संख्या नपुग्दा दुवै प्रस्ताव अस्वीकृत भएको सदनलाई जानकारी गराए ।
सभामुखको उम्मेदवारी दर्ता गराएका भण्डारी नेकपा (माओवादी केन्द्र) का तर्फबाट र अर्का उम्मेदवार रावल नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार थिए । भण्डारीका पक्षमा एमाले, माओवादी केन्द्र, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका सदस्य रहेका थिए ।
रावलका पक्षमा कांग्रेस, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सदस्य थिए । प्रदेशसभामा कांग्रेसका १९, नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका ११, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया