स्ववियु निर्वाचनका लागि नेविसंघद्वारा दुई समिति गठन

लोकपथ
65
Shares

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि दुई समिति गठन गरेको छ ।

संघका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउनका लागि आज घोषणापत्र तयारी समिति र प्रचारप्रसार समिति गठन गरेका हुन् ।

अध्यक्ष शेर्पाका अनुसार घोषणापत्र तयारी समितिको संयोजकमा संघका पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्व (तनहुँ) र प्रचार–प्रसार समितिको संयोजकमा डा.सन्तोष उपाध्याय (ललितपुर) रहेका छन् ।

दुई समितिलाई नै निर्वाचनलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन आवश्यकतानुसार समन्वय गरी समिति विस्तार तथा उपसमिति गठन गर्ने अधिकारसमेत दिइएको छ । अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनलाई शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गरी विद्यार्थीको हकहितको रक्षा र सम्मान गर्न नेविसंघ तयार रहेको बताए ।

उनले समयमै परीक्षाफल प्रकाशित नहुनु र शैक्षिक बेरोजगारको अवस्था सिर्जना हुनुले शैक्षिक क्षेत्रमा देखिएको ढिलासुस्ती र नीतिगत कठिनाइलाई चिर्न स्ववियु निर्वाचन आवश्यक रहेको बताए ।

गत पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । विस २०७३ चैत १५ गते केही आङ्गिक क्याम्पसमा मात्र निर्वाचन भए पनि अन्य क्याम्पसमा विसं २०६५ सालदेखि अहिलेसम्म स्ववियु निर्वाचन हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?