काठमाडौं । कम्युनिस्ट नेता घनश्याम भूषाललाई छिटोभन्दा छिटो पार्टीमा आउन नेकपा एकीकृत समाजवादीले आग्रह गरेको छ । घनश्यामलाई एक पत्र लेखी एकीकृत समाजवादीमा आवद्ध भई नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रुपान्तरणको अभियानमा सहभागी हुन नेकपा एसले आग्रह गरेको हो ।
महासचिव बेदुराम भूषालले लेखेको पत्रमा भनिएको छ, ‘यतिबेला नेपाली समाजमा विद्ययमान समस्या समाधान गर्न समाजवादी कार्यदिशा अंगालेर अगाडि बढ्नुपर्दछ भन्ने दृष्टिकोण राख्ने विभिन्न कम्युनिस्ट समूह र व्यक्तिहरुलाई समेत समाजवादी कार्यदिशा अंगालेको यही नेकपा एकीकृत समाजवादीमा आवद्ध गर्ने कार्यमा हामी सबै सक्रियतापूर्वक लागौं भन्ने पनि अनुरोध छ ।’
एमालेको नवौं महाधिवेशनको निर्णयप्रति अहिले पनि प्रतिवद्ध रहेको भन्दै एकीकृत समाजवादीले नेपाली क्रान्तिको कार्यदिशा अहिले पनि त्यही रहेको प्रष्ट गरेको छ ।
यसअघि घनश्याम भूषालले पुस २६ मा एक वक्तव्य जारी गर्दै एमाले र माओवादी दुवैले इतिहासलाई आफ्नो आफ्नो संकीर्णतामा व्याख्या गर्न थालेको र एकीकृत समाजवादीले उक्त जडताबाट मुक्त हुने कोशिस गरेको बताएका थिए । उनले आफूले राखेको प्रस्तावको जवाफ दिन पनि भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया