ओलीले कुनै पनि बेला प्रचण्डलाई धोका दिन्छन् : जगन्नाथ खतिवडा (भिडियोसहित)

लोकपथ
104
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई वर्तमान सत्ता गठबन्धनका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले कुनै पनि बेला धोका दिने दाबी गरेका छन् ।

ओलीको चरित्र नै धोखाधडीमा खेल्ने रहेको भन्दै उनले प्रधानमन्त्री प्रचण्ड त्यसबाट सतर्क रहनुपर्ने उनको सुझाव छ । ओलीको स्वेच्छाचारी शैली र प्रचण्डको व्यक्तित्वबीच कुनै पनि बेला टकराव हुने उनको बुझाइ छ ।

लोकपथ टिभीको कार्यक्रम कर्माणिसँग कुरा गर्दै नेता खतिवडाले प्रचण्ड फेरि धोकामा नपरुन् भनेर पनि आफूहरुले विश्वासको मत दिएको जिकीर गरे ।

‘जसरी प्रचण्ड बुर्लुक्क उफ्रिएर ओलीसमक्ष पुगी नयाँ गठबन्धनमा सामेल हुनु ‘आर्टिफिसियल’ थियो उसैगरी ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउनु पनि प्राकृतिक थिएन,’ उनले भने । ‘केही समयपछि फेरि एक ठाउँ उभिनु त छनै, त्यसैले अहिले नै समर्थन गरेर एउटा राष्ट्रिय सहमतिको सन्देश किन नदिने भन्ने नै हो, प्रचण्डलाई संसदको सबैजसोले मत दिनु,’ खतिवडाले भने ।

एमालेसँग पार्टी एकता नहुने भन्दै उनले वृहत वामपन्थी एकताका लागि भने आफ्नै दलले प्रयास थालिसकेको बताए ।

प्रचण्ड योभन्दा शक्तिशाली हुने ठाउँ नरहेको भन्दै अब विकास, समृद्धी, भ्रष्टाचार नियन्त्रणका विषय कसरी अगाडी बढ्छ भन्ने कुराले उनको मूल्यांकन हुने खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?